तीन उम्मेदवारका गाडीमाथि हाते बम प्रहार

तीन उम्मेदवारका गाडीमाथि हाते बम प्रहार

केन्द्रबिन्दु
0
Shares

संखुवासभा, २८ कात्तिक ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो ।

एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ ।

Logo