यी १० उम्मेदवार: पहिले सहयात्री अहिले प्रतिस्पर्धी

यी १० उम्मेदवार: पहिले सहयात्री अहिले प्रतिस्पर्धी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । काठमाडौँ, २४ कार्तिक ।

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ भन्ने कुरा बारम्बार पुष्टि हुँदै आएको छ । त्यसो त कुनै बेला एक अर्कालाई देखि नसहनेहरु अहिले एकजुट भैरहेका बेला कुनै बेला नङ् मासु झैँ मिलेकाहरु भने अहिले चिढिएका छन्  । उनीहरु एकअर्का बिरुद्ध कम्मर कसेर लागि परेका छन् । हामीले त्यस्ता १० जना उम्मेदवारको बिगत र बर्तमान अबस्था प्रस्तुत गरेका छौ । 

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लामो समयसम्म माओवादीमा एकै हैसियतमा कार्यरत थिए । ०६५ सालदेखि यी दुई नेता माओवादीको उपाध्यक्ष थिए । तर, दुई वर्षअगाडि डा. भट्टराईले माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए । अहिले भट्टराई गोरखा २ बाट चुनाब लड्दै छन् भने नारायणकाजी श्रेष्ठ पनि त्यहिबाट चुनावी प्रतिस्पर्धामा छन् । भट्टराई आँखा चिन्ह  लिएर मैदानमा छन् भने श्रेष्ठ गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्दै छन् ।

मोहनसिंह राठौर र झपटबहादुर रावल

कैलाली २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मोहनसिंह राठौर र झपटबहादुर रावल कुनै बेला सहयात्री थिए ।

तर अहिले राठौर कांग्रेसको रुख चिह्नमा र रावल एमालेको सूर्य चिह्न लिएर मैदानमा छन् । यी दुई नेता उम्मेदवारी मनोनयन (कात्तिक १६) को दुई दिन अगाडिसम्म एउटै पार्टी एमालेमा थिए । ०५६ र ०७० को निर्वाचनमा एमालेबाट कैलाली २ मा जितेका राठौरलाई यसपटक पार्टीले टिकट नदिने निर्णय गरेपछि कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका हुन् । अचम्म त के छ भने यी दुइ बीच कुनै बेला मन्त्री र पिएको सम्बन्ध थियो । राठौर ०६२/०६३ को आन्दोलनपछि अन्तरिमकालको मन्त्रिपरिषद्का शिक्षा राज्यमन्त्री थिए भने झपट उनका पिए ।

महेन्द्र राय यादव र जंगीलाल राय

राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव । अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन् ।जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् ।

टेकबहादुर बस्नेत र उमाकान्त शर्मा

सल्यानमा पनि यस्तै रोचक पक्ष छ । विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतसँग स्वतन्त्रबाट आफ्नै सहकर्मी उमाकान्त शर्मा चुनाब लड्न लागेका हुन् ।

लक्ष्मण यादव र मनीष सुमन

त्यस्तै सप्तरीमा पनि यस्तै रोचक भिडन्त हुने भएको छ । राजपाका महामन्त्री मनीष सुमन र लक्ष्मण यादव लड्दै छन् । उनीहरु सप्तरीको २ को प्रदेशसभा २ मा भिड्न लागेका हुन् । यादव स्वतन्त्रबाट र सुपन राजपाबाट चुनाब लड्न लागेका हुन् ।

Logo