वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २१ कात्तिक ।

आसन्न मंसिर निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् ।

लोकतन्त्र तलमाथि हुन दिँदैनौँ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावको घोषणापत्र राष्ट्र निर्माणको प्रतिबद्धता भएको बताएका छन् ।

गठनबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको स्पष्ट पारे । उनले भने, “यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो । गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले भने, “लोकतन्त्र कसैले ल्याइदिएको उपहार होइन, हाम्रै पुस्ताले बलिदान र संघर्ष गरेर आएको हो । त्यसैले लोकतन्त्र हाम्रो निष्ठा मात्र होइन, यो उपलब्धि हो । हामीले जनता जगाएको प्रमाण हो । हामी लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ ।”

उनले एमाले र माओवादी मिलेर पहिला पनि सरकार चलाएकाले चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोकोहोलो र रुवाबासी गर्न नपर्ने बताउँदै अगाडि भने, “पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ ?”

मुलुकलाई एकताबद्ध बनाएर जानु अहिलेको आवश्यकता भएको बताउँदै उनले घोषणापत्रमा आफूहरुको लक्ष्य र प्रतिबद्धता सही नीति, संकल्प र विचारका साथ अघि सारिएको जनाए । नेता ओलीले दुनियाँले पत्याउनसमेत गाह्रो पर्ने गरी काम गर्दै आएका दुई पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्ने जिकिर गरे ।

उनले नेपालका दुवै छिमेकी भारत र चीनसँगको समदूरीको सम्बन्धलाई विकास गर्ने बताउँदै राष्ट्र निर्माण र सन्तानको भविष्य बनाउने कुरामा कोही पनि जिम्मेवारीबाट पछि हट्न नहुने बताए ।

‘स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान’ : प्रचण्ड

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताए ।

गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।

उनले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए ।

उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, “आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ ।”

उनले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धु्रवीकृत हुन सक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ भने । उनले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली काँग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि’ आफूहरुले त्यस्तो नगर्ने स्पष्ट पारे ।

Logo