कोमल वलीले फिर्ता लिइन् स्वतन्त्र उम्मेदवारी, एमालेलाई नै सघाउने

कोमल वलीले फिर्ता लिइन् स्वतन्त्र उम्मेदवारी, एमालेलाई नै सघाउने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवादाता । काठमाडौं, १९ कात्तिक ।

 नेकपा एमालेले पूर्वअनुमानअनुसार टिकट नदिएपछि प्रतिनिधि सभाका लागि दाङ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वलीले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

उनी उम्मेदवारी दिएको दिनदेखि नै एमाले नेतृत्वसँग पटक–पटक सम्वादमा थिइन् ।

केन्द्रबिन्दु डट कमसित कुराकानी गर्दै ओलीले ‘दाङका जनतासँगै मिलेर यहीँ काम गर्नुपर्ने भएकाले र पार्टीको आग्रहसमेतलाई मानेर उम्मेदवारी फिर्ता लिएको’ बताएकी छन् ।

दाङ क्षेत्र नं ३ मा एमालेबाट आधिकारिक टिकट हिराचन्द्र केसीले पाएका छन् । केसी स्थानीय सुन व्यवसायी हुन् । उनी पनि कोमल जस्तै राप्रपावाटै एमाले प्रवेश गरेका हुन् तर उनी चाहिँ पाँच वर्षअघि प्रवेश भएका थिए ।

समाचार स्रोतअनुुसार, कोमललाई एमालेले कुनै राजदूत अथवा राष्ट्रिय सभासदस्य दिने समझदारी विकसित भएको छ ।

कोमलले जस्तै केसीविरुद्ध वाम गठबन्धनबाटै माओवादी पूर्वसभासद कुबेर ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले आफ्नो बागी उम्मेदवारी फिर्ता लिने नलिने बारे केही जानकारी प्राप्त भएको छैन ।

कोमल वलीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति :

आदरणीय पत्रकार मित्रहरु !

दुई दशकपछि आह्वान भएको स्थानीय निर्वाचन सफलतापछि देश उत्साहका साथ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जुटेको छ । यो ऐतिहासिक घडीमा आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हरेक नागरिक उत्सुक छन् । नयाँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवद्र्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा (एमाले)ले पूरा गर्न सक्छ भनेर आत्मादेखि मनन् गरेकोले म सो पार्टीमा प्रवेश गरेकी हुँ । जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैले सँगालेको अनुभवलाई देश र जनताकै लागि कसरी सदुपयोग गर्न सकिन्छ भनेर चिन्तन गर्नु मेरो कर्तव्य पनि हो । त्यसैले जनप्रतिनिधिहरुको थलो संसद्मा गएर आफ्नो भूमिकालाई सशक्त बनाउन खोज्नु मेरो नाजायज आकांक्षा होइन, देश र जनताप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति पनि हो ।

नेकपा (एमाले)का आदरणीय नेताज्यूहरुसँगको संवाद र उहाँहरुले व्यक्त गर्नुभएको सद्भावले पनि मलाई त्यो भूमिकाका लागि अझ बढी हौसला प्रदान गरेको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनको पूर्वसन्ध्यामा पार्टीको सूचीमा मेरो नाम समावेश नभएको जानकारीले मलाई स्तब्ध बनाएकै हो । यो सूचनाले मलाई व्यक्तिगत मात्र होइन सामाजिक रुपमा पनि आहत बनाएकोले मैले आफ्नो निर्दिष्ट जिम्मेवारी पूरा गर्न स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुँ । तर, यो बीचमा मलाई पार्टीमा प्रवेश गराउने श्रद्धेय नेता शंकर पोखरेलज्यु,अन्य नेतागण, पार्टीका आदरणीय अभिभावक, जिम्मेवार नेता तथा कार्यकर्ता, सामाजिक अग्रज, मेरा शुभचिन्तक, मान्यजन तथा प्रियजनहरुबाट पाएको सद्भाव र सहानुभूति मेरा लागि सर्वाधिक महत्वपूर्ण छ । संवेदनशील घडीमा सबैतिरबाट मिलेको स्नेहले मलाई अझ बलियो आत्मविश्वासका साथ संगठित रुपमा राजनीतिक यात्रामा अघि बढ्न प्रेरणा मिलेको छ । त्यसैले मैले आस्था राखेको पार्टी नेकपा (एमाले) र समग्रमा वामगठबन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु । गठबन्धनको जित सुनिश्चित गर्न आदरणीय नेतागण र जिम्मेवार कार्यकर्ताहरुसँग काँधमा काँध मिलाएर आफ्नो हैसियत अनुसारको भूमिका पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । म प्रति सद्भाव राख्नुहुने सबैलाई फेरि पनि धन्यवाद ।

राजनीतिक तथा सामाजिक यात्रामा यहाँहरुको यस्तै माया पाइरहने अपेक्षा राख्दछु । धन्यवाद ।

कोमल वली
१९ कात्तिक २०७४

Logo