जहाँ लड्दैछन् ७ जना पूर्वमन्त्री

जहाँ लड्दैछन् ७ जना पूर्वमन्त्री

केन्द्रबिन्दु
0
Shares

लहान, १७ कात्तिक। मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 
जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन ।

सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरुसँगै सो क्षेत्रमा नेपाली काँग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिएका छन् । 

सिरहा क्षेत्र नं १ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा छन् । उनीसँग नेपाली काँग्रेसका नेता प्रदीप गिरी र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं २ मा फोरम राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गरेकाे छ भने उनीसँगै वामगठबन्धनका तर्फबाट पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दास यादव र नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन । 

यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं २ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व आपूर्ति मन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र काँग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन् । 

क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादव चुनावी दौडमा छन भने उनीसँगै काँग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा छन् । 

पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ । प्रतिनिधि सभाका लागि ४ र प्रदेश सभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ । रासस

Logo