ओलीलाई वलीको प्रश्न: दीपक मनाङ्गेलाई हुने टिकट मलाई किन नहुने ?

ओलीलाई वलीको प्रश्न: दीपक मनाङ्गेलाई हुने टिकट मलाई किन नहुने ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १७ कात्तिक ।

बाँकी जीवन राजनीतिमा समर्पण गर्ने लक्ष्यका साथ रेडियो नेपालको सरकारी जागिर चट्टै त्यागेर राजनीतिमा होमिएकी कोमल वली यतिबेला यता न उता भएकी छन् । चर्चित लोकदोहोरी गायिका वली राप्रपामा खुल्ला तर्फबाटै सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरु गरेका वली हालै मात्रै नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । वलीलाई त्यतिबेला सकेसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नभए समानुपातिकबाट पक्कापक्की टिकट दिने बताइएको थियो । यो कुरा एमाले नेता शंकर पोखरेलको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओली स्वमले नै भनेका थिए । त्यसबेला गायिका वलीले आफू प्रदेश सभामा चुनाव लड्न चाहेको बताउँदा ओलीले भनेका थिए– “तिमी जस्तो मान्छे केन्द्रमा आउनुपर्छ ।” तर अहिले उनले न समानुपातिकबाट टिकट पाइन् न त प्रदेश सभाको नै ।

“राप्रपामा खुल्लाबाट सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी मान्छे राप्रपामै बस्थेँ तर एमालेमा नेतृत्वको तहमा आउनुपर्छ भनेर ल्याइयो, तर अहिले झुक्याइयो,” वलीले दुखेसो पोखिन् । एमालेले आफूलाई नराम्ररी फसाएको भन्दै गायिका वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी छन् । राष्ट्रिय झण्डासहित निर्वाचन आयोगमा उम्मेदवारी दिन पुगेकी वलीले एमालेले ठूलो धोका दिएको बताएकी छन् ।

हुन त एमाले प्रवेश गर्नुअघि नै लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले वलीलाई राम्ररी सुझबुझका साथ पार्टी प्रवेश गर्न सुझाएका रहेछन् । यो कुरा उनले अध्यक्ष ओलीलाई पनि सुनाएका थिए । साथै उनले यसअघि पार्टी प्रवेश गरेर धोका पाएका भुवन केसीको उदाहरण समेत दिन भ्याएका रहेछन् । त्यसबेला ओलीले कोमललाई भनेका थिए– “तिमी र भुवन केसीबीच तुलना गर्न मिल्दैन ।” ओलीले यति भनेपछि गायिका वली विश्वस्त भइन र एमाले प्रवेश गरिन् ।

‘दीपक मनाङ्गेलाई दिन हुने टिकट मलाई किन नहुने ?’

पार्टी प्रवेशताका मात्रै होइन हालै टिकट वितरण गर्ने अन्तिम समयसम्म पनि वलीलाई झुक्याइएको रहेछ । गत १५ दिनदेखि उनी एमालेका उच्च पदस्थ नेताहरूसँग सम्पर्कमै थिइन । हरेक पटकको कुराकानीमा नेताहरूले आफूलाई आप्mनो नाम सूचीमा रहेको बताउने गरेको उनले बताइन् । बन्द सूचीभित्र आप्mनो नाम छ भनेर ढुक्क भएकी उनी तब छाँगाबाट खसे झै भइन् जब नामावली सार्वजनिक भयो । सार्वजनिक नामावलीमा आप्mनो नाम नभएपछि रिसले चुर भएकी उनले त्यति नै बेला स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णय गरीसकेकी थिइन् ।

उनको नाम नहुँदा वली मात्रै होइन दाङका एमाले समर्थकहरू समेत तिनछक परेका छन् । त्यसो त उनीहरू स्वयं वलीलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरिरहेका छन् । उनीहरूले कोमल वलीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एमाले नेतृत्वलाई गायिका वलीको एउटै प्रश्न छ– “दीपक मनाङ्गेलाई टिकट दिन हुने, मलाई किन नहुने ?”।

ओलीको लाचारीपन

गायिका वलीले प्रदेश सभामा चुनाव लड्ने बताउँदा प्रतिनिधी सभामै टिकट दिने आश्वासन दिएका एमाले अध्यक्ष ओलीले पछिल्लो समय आप्mनो लाचारीपन छर्लड्ढ पारेका छन् । कोमलले स्वतन्त्र उम्मेदवारी दिएपछि ओलीले उम्मेदवारी फिर्ता लिन अनुरोध समेत गर्न सकेका छैनन् । त्यसो त ओलीले अर्का नेता शंकर पोखरेलमार्फत गायिका वलीलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छन् । स्रोतका अनुसार, एमाले देशकै ठूलो पार्टी बन्ने र अवसरको ठूलो ढोका खुल्ने भन्दै गायिका वलीलाई राष्ट्रिय सभाको सदस्य वा राजदूतसम्मको आश्वासन दिएको बताइन्छ ।

तर वली आफ्नो उम्मेदवारी फिर्ता नलिने अडानमा छिन् ।

Logo