मतदातालाई प्रभावमा पार्ने काम नहोस्– प्रमुख निर्वाचन आयुक्त

मतदातालाई प्रभावमा पार्ने काम नहोस्– प्रमुख निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १७ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट नमूना निर्वाचनका रुपमा सफल तुल्याउन निर्वाचन आयोग अर्जुनदृष्टिका साथ काम गरिरहेको बताएका छन् । 

राजनीतिक दल सम्बद्ध युवाको लागि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै उहाँले पहिलो चरणको निर्वाचनको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम शुरु भएको हुँदा निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “उम्मेदवारी मनोनयन कार्य ज्यादै उल्लासपूर्ण रुपमा भएको छ, जसरी पवित्र भावना लिएर मनोनयनमा दर्तामा संलग्न हुनुभएको छ, त्यसरी नै राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिताको पालना होस् । भोज भतेर र टिसर्ट देखाएर मतदातालाई प्रभावमा पार्ने काम नहोस् ।” 

स्वच्छ, स्वतन्त्र, मितव्य र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै उहाँले आगामी निर्वाचनमा अचारसंहिताको उल्लंघन गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिए । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दलले सरकार हाक्ने जिम्मेवारी पाएमा त्यसबाट न्याय र सदाचारको के अपेक्षा गर्न सकिएला भनी प्रश्न गर्दै निर्वाचनको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलले यो कुरालाई राम्रोसँग हेक्का गर्न आवश्यक छ भने । 

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बिहीबार भएको शान्तिपूर्ण, मर्यादित र व्यवस्थित उम्मेदवारी मनोनयनले सबैमा उत्साहित तुल्याएको धारणा व्यक्त गरे । मतदानमा मतदाताको उपस्थिति र सदरमत संख्या बढाउन तथा बदर मत प्रतिशत घटाउन राजनीतिक दलका युवा नेताबाट महत्वपूर्ण भूमिका हुनसक्ने जनाउँदै आयोगले समयको निकै चाप रहेपनि मतदाता शिक्षाका लागि नमूना मतपत्रसहितका सामग्री घरघर पु¥याउने आयोगले अठोट व्यक्त गरेको छ । 
आगामी निर्वाचनमा भाग लिएका राजनीतिक दलका युवा उक्त प्रशिक्षणमा सहभागी हुनुहुन्छ । प्रशिक्षणमा उनलाई संवैधानिक तथा कानूनी व्यवस्था, निर्वाचनसम्बन्धी कानूनी संरचना, मतदान तथा मतगणना प्रक्रिया र आचारसंहिता पालना सम्बन्धमा ज्ञान दिइने छ । रासस

Logo