प्रमुख तीन दलबाट १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

प्रमुख तीन दलबाट १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

केन्द्रबिन्दु
0
Shares

किरण भट्टराई । काठमाडौं, १६ कात्तिक ।

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको निर्वाचनमा भने तुलनात्मक रुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् ।

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली (काँग्रेस) बाट दुई र नेकपा (माओवादी केन्द्र) बाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिला आज उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा (एमाले) बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट तीनजना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डीना) उपाध्याय, काठमाडौँ–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा छन् ।

यसैगरी नेकपा (एमाले) ले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले ललितपुर–३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बीना मगरलाई उम्मेदवार बनाएको छ ।

तीमध्ये कैलाली–१ मा महिला–महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा काँग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका छ । यसअघि समानुपातिकबाट सांसद रहेका दुवैजनाले अहिले प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् ।

यस्तै केहीअघि राप्रपा छोडी नेकपा (एमाले) प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ–३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा काँग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्काले पूर्वी रुकुमबाट उम्मेदवारी दिएका थिए ।

समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी काँगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।

संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

ललितपुर–३ बाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी पम्फा भुसाल आफ्नो जित निश्चित रहेको बताउँछिन् ।

यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उनको भनाइ छ ।

आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उनले बताइन् ।

महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उनले जोड दिइन् ।

मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना) ले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताइन् ।

आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उनको भनाइ छ ।

कैलाली–१ बाट उम्मेदवार रहेकी एमालेकी केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गरिन् ।

आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उनको भनाइ छ । रासस

 

Logo