यस्तो छ, राष्ट्रपतिको किचन ‘क्याबिनेट’ (भिडियो समेत)

यस्तो छ, राष्ट्रपतिको किचन ‘क्याबिनेट’ (भिडियो समेत)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति भएपछि विद्या भण्डारीको दैनिकी फेरिएको छ । राष्ट्रप्रमुखलाई दिइने सम्पूर्ण सुविधा र सुरक्षा भित्र उनी पसेकी छन् । यस्ती भएकी छन् मानौं उनी गणतन्त्रकी महारानी हुन् ।

प्रथम महिला राष्ट्रपति वा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भण्डारी नेपाल र नेपालीहरुको हकमा गौरवपूर्ण इतिहास पनि हुन् । उनी राष्ट्रपति हुनुअघिसम्म नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष थिइन् । राष्ट्रपति भएपछि भने उनले पार्टीको सम्पूर्ण जिम्मेवारी छोडिन् र सम्पूर्ण देशको सल्लाहकार हुने मार्गमा हिडिरहेकीछन् ।

अधिकार कम भएको मात्र हो, राष्ट्रप्रमुखको कार्यभारले भने उनी सधैं ब्यस्त नै भइरहन्छिन् । भेटघाट र परामर्शहरु त झन चलिनै रहन्छ । सातामा एक पटक प्रधानमन्त्री भेट्न जाने र मुलुकको नियमित कामको ‘ब्रिफिङ’ गर्नुपर्ने चलन छ । सांस्कृतिक राजाको भूमिका पनि उनकै टाउकोमा छ ।

राष्ट्रपतिकालागी आवश्यक सल्लाहकार, सहयोगी र हर्ताकर्ता उनले नियुक्त गरिसकेकी छन् ।

औपचारिक सल्लाहकारहरुको कुरा गर्दा राष्ट्रपति भण्डारीले एकै पटक ६ सल्लाहकार नियुक्त गरेकि थिइन् । त्यसमा होमटाङ–८, भोजपुरका धनहर्क राई, काठमाडौंका सुशील प्याकुरेल, डा. मदनकुमार भट्टराई, र डा. मीना आचार्य रहेकाछन् । त्यसैगरी जगन्नाथ महासेठ, जनकपुर–९ धनुषा र पोखराका माधव शर्मा, समेत उनका सल्लाहकार हुन् ।

त्यसैगरी राष्ट्रपतिको सचिवालयमा एकैपटक तीनजना नियुक्त भएका थिए । भेषराज अधिकारी, नवराज गौतम र शिव भट्टराई राष्ट्रपतिका स्वकीय सचिव हुन् । राष्ट्रपतिको औपचारिक सल्लाहकारहरु यिनै हुन् । जसले राष्ट्रपति र राष्ट्रपतिको कार्यालयको नियमित काम गर्छन् । तर स्टोरी औपचारिक सल्लाहकारको होइन, ती अनौपचारिक सल्लाहकारहरुको हो, जो राष्ट्रपतिको किचनमा बसेर सल्लाह बाँड्ने गर्छन् । जो–जसमा स्वयं राष्ट्रपतिलाई पनि विश्वास र आवश्यकता महसुस छ । सवैभन्दा पहिला कुरा गरौं, राष्ट्रपतिका अनौपचारिक सल्लाहकारहरुको । जसलाई हामीले राष्ट्रपतिको किचन क्याविनेट भनेका छौं ।

आखिर को–को छन् त राष्ट्रपतिको किचन क्याविनेटमा ?
केपी ओली
अध्यक्ष, नेकपा एमाले
राष्ट्रपतिको प्रमुख सल्लाहकार को हुन् ? स्रोतका अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीका प्रमुख सल्लाहकार हुन् । राष्ट्रपतिका एकजना सहयोगीका अनुसार ओली सातामा दुई पटकजति राष्ट्रपति निवास पुग्छन् । ओलीसँग उनी महत्वपूर्ण विषयमा सल्लाह लिने गर्छिन् ।
राष्ट्रपतिले सम्पूर्ण राष्ट्रको अविभावको भूमिका निर्वाहगर्नु पर्ने भएकाले अध्यक्ष ओलीले दिने सल्लाह र राष्ट्रपतिको काम कार्यवाही सवै राष्ट्रकै पक्षमा देखिएका छन् ।

शेरधन राई
एमाले पोलिटब्यूरो सदस्य
केपी ओली पछि राष्ट्रपति निवास गइरहनेमा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई पर्छन् । उनी राष्ट्रपतिलाई सल्लाह दिने मात्र होइन, राष्ट्रपतिको घरायसी ब्यवस्थापनको काम समेत गर्दैआएका छन् । भनिन्छ, उनलाई केपी ओली सरकारमा सूचना तथा सञ्चारमन्त्री मन्त्री बनाउनु पर्छ भन्ने दवाव राष्ट्रपतिवाट आएको थियो ।

भानुभक्त ढकाल
पोलिटब्यूरो सदस्य, एमाले
राष्ट्रपति कार्यालय गइरहनेमा भानुभक्त ढकाल पनि पर्छन् । जसरी शेरधन राई राष्ट्रपतिका विश्वासिला हुन्, त्यसैगरी भानुभक्त ढकाल एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । भनिन्छ, यही कारण ढकाल केपी ओलीको दुतका रुपमा राष्ट्रपति कार्यालय पुगिरहन्छन् ।

डा. राजन भट्टराई
पोलिटब्यूरो सदस्य, एमाले
राष्ट्रपति भण्डारीका विश्वास पात्र मध्येमा पर्छन् डा. राजन भट्टराई । परराष्ट्र मामलाका जानकार मानिने राजन राष्ट्रपति भण्डारीका मात्र होइन एमाले अध्यक्ष केपी ओलीका समेत विश्वासपात्र हुन् । यही कारण उनी राष्ट्रपति कार्यालय पुगिरहन्छन् ।

उषा किरण भण्डारी
राष्ट्रपतिकी छोरी
भारतको जेएनयू विश्वविद्यालयवाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकाले पनि हुनसक्छ, उषाकिरण भण्डारीको ज्ञान र रुची राजनीतिमा छ । त्यसकारण उनी छोरी भएरभन्दा पनि राजनीतिज्ञ भएर सल्लाह दिने हैसियत राख्छिन् भनिन्छ ।

एमाले नेता तथा कार्यकर्ताहरु
राजनीतिक रुपमा एमालेका नेता तथा कार्यकर्ताहरु मात्रै राष्ट्रपति कार्यालय धाउँछन् । खासगरी एमालेको काठमाडौं जिल्ला कमिटीका नेताहरु बरोबर राष्ट्रपति कार्यालय जानेहरुको सूचीमा पर्छन्् । देशैभरीवाट आएका एमालेका कार्यकर्ताहरु राजधानी आएकावेला एक पटक राष्ट्रपति भेट्ने चाहाना राख्छन् । आफ्नो पार्टीको नेतृ मुलुकको सर्वोच्च स्थानमा पुगेको हुनाले पनि एमाले कार्यकर्तामा क्रेज हुनु स्वभाविक हो । जिल्ला–जिल्लावाट आएका कार्यकर्तासँगको कुराकानीवाट राष्ट्रपतिले देशभरीको माहोल थाहा पाउने गर्छिन् ।

पहिलो कम्यूनिष्ट राष्ट्रपतिको बिल्ला भिरेपनि राजा–महाराजाको जस्तो उस्तै सुरक्षा पोज, सवारी हुँदा जनतालाई उस्तै सास्ती, उस्तै खोपीको देउता वनाइरहने प्रयास आदिले सल्लाहकारहरुको भूमिकामा प्रश्न चिन्ह चाहिं छ नै । सायद सल्लाहकार हुन पनि सजिलो छैन । किनभने राष्ट्रपति सेना र सीसी टिभीको निगरानीमा नै हुन्छिन् । कोठाभित्र बाहेक उनका सवै दैनिकी सार्वजनिक हुन सक्छन् । र, उनलाई भेट्नेहरुको फेहरिस्त पनि सुरक्षा निकायले राखिरहेको हुन्छ । सार्वजनिक जीवन जस्तै हो, राष्ट्रपतिको पनि । त्यसकारण पौने तीन करोड नेपालीकै राष्ट्रपति हुनकोलागी उनले पार्टी र पुराना सम्बन्धवाट माथि उठ्न सक्नु पर्छ । उनकालागी स्वतन्त्र विज्ञहरुको कमी हुने छैन । ‘किचन क्याबिनेट’ देश चलाउने सवैकालागी आवश्यक हुनसक्छ । तर यसैको भरमा भने बस्नु हुँदैन ।

राष्ट्रपति एमाले पार्टी र सोही पार्टीको नेताका सल्लाहमा सीमित हुनहुँदैन । तर अभ्यस्त नभइसकेकाले हुनुपर्छ उनीकहाँ एमाले वाहेकका अन्य पार्टीका नेता पुग्दैनन् । मुलुक अफ्टेरोमा पर्दा राष्ट्रपतिको अविभावकीय भूमिका आवश्यक पर्छ । दलहरुले वाटो बिर्सेभने सिठी फुक्ने काम पनि उनकै हो । त्यसकालागी पनि राष्ट्रपतिमा स्वतन्त्र सोच हुन जरुरी हुन्छ । एमाले नेता र पार्टीले राष्ट्रपतिलाई यस ठाऊँमा स्वतन्त्र हुन दिनुपर्छ, प्रथम राष्ट्रपति डा. रामबरण यादवलाई कांग्रेसले छोडिदिए जस्तो ।

 अनौपचारिक
केपी शर्मा ओली (प्रमुख सल्लाहकार)
भानुभक्त ढकाल
शेरधन राई
डा. राजन भट्टराई
उषा किरण भण्डारी (जेठी छोरी)

औपचारिक सल्लाहकार
धनहर्क राई – होमटाङ–८, भोजपुर
सुशील प्याकुरेल – काठमाडौंका
डा. मदनकुमार भट्टराई, काठमाडौं
डा. मीना आचार्य काठमाडौं
जगन्नाथ महासेठ, जनकपुर–९ धनुषा
माधव शर्मा, काठमाडौं

सचिवालय (स्वकीय सचिव)
भेषराज अधिकारी
नवराज गौतम
शिव भट्टराई

केन्द्रबिन्दु टिभीकालागी
रिपोर्ट – दिवस गुरागाईं
उद्घोषण – अदिती पौडेल
सम्पादन – कुशल राई

 

Logo