बैतडीमा थपिए आठ मतदान केन्द्र

बैतडीमा थपिए आठ मतदान केन्द्र

केन्द्रबिन्दु
0
Shares

बैतडी, ११ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बैतडीमा आठवटा मतदान केन्द्र थपिएका छन् । 

स्थानीय तहको निर्वाचनका बेला १७४ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १८२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

डिलाशैनी गाउँपालिका–७ मा रहेको सिके मावि मतदानस्थलमा दुईवटा केन्द्र रहेकामा आगामी निर्वाचनका लागि एक केन्द्र थपिएको छ । पाटन नगरपालिका–९ जनप्रीय मावि, पुरचौंडी नगरपालिका–८ स्थित डिलाशैनी मावि, मेलौली नगरपालिका–१ स्थित गोपाञ्जल आधारभूत विद्यालय झुसिल र मेलौली नगरपालिका–३ स्थित केदारमावि कुचाड मतदानस्थलमा एक÷एक मतदान केन्द्र थपिएका छन् । 

यसैगरी, मेलौली नगरपालिका–९ स्थित विशालपुर मावि, शिवनाथ गाउँपालिका–२ स्थित नागार्जुन मावि र सिगास गाउँपालिका–१ स्थित लेकलुपड मतदानस्थलमा एक÷एक मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सात हजार मतदाता थपिए 

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा सात हजार ३४ मतदाता थपिएका छन् । गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख २५ हजार २८३ मतदाता रहेकामा निर्वाचन आयोगले गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेसँगै मतदाताको संख्या अब एक लाख ३२ हजार ३१७ पुगेको छ । 

पुरुष ६४ हजार ४७०, महिला ६७ हजार ८४५ र दुई जना तेस्रोलिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो । क्षेत्र नं १ मा ३२ हजार १३६ पुरुष र ३३ हजार २८९ महिला गरी ६५ हजार ४२५ मतदाता तथा क्षेत्र नं २ मा ३२ हजार ३३४ पुरुष, ३४ हजार ५५६ महिला र दुई तेस्रोलिंगी गरी ६६ हजार ८९२ मतदाता रहेका छन् । 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले अगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा अब नयाँ नाम दर्ता र ठाउँसारी गर्न नपाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रदेश सभाका लागि दुई तथा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको छ । रासस

Logo