टिकटका लागि दौडधुप कायमै

टिकटका लागि दौडधुप कायमै

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम, १० कात्तिक । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न जिल्लाका मुख्य दलका नेताहरुबीच दौडधुप चलिरहेको छ । नेताहरु उम्मेदवार बन्नका लागि राजधानी केन्द्रित दौडधुप गरिरहेका छन् । 

विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनलाई उम्मेदवार छान्न सकस भएको छ । जिल्लाबाट आवश्यकभन्दा बढीको आकांक्षा देखिएपछि दलहरुलाई उम्मेदवार छान्न सकस भएको हो । जिल्लाका नेताहरु पनि टिकट आफ्नो हातमा पार्न र आफ्नो समर्थन भएका नेतालाई टिकट दिलाउन राजधानी केन्द्रित भएका छन् । दुई नगरपालिका र चार गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । 

वाम गठबन्धनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (एमाले)का निवर्तमान सांसद भवानीप्रसाद खापुङ र पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाको नाम चर्चामा छ । खापुङ नेता माधव नेपाल र कन्दङ्वा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । विसं २०७० को चुनावमा एमालेबाटै प्रत्यक्षतर्फ चुनाव जितेका खापुङ अहिले पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छन । 

उनी २०६४ सालमा भने काँग्रेसका तुलसी सुब्बासँग पराजित भएका थिए । अघिल्लो चुनावमा खापुङलाई आफू पार्टीको जिल्ला अध्यक्ष भएर जिताएको बताउने कन्दङ्वा पनि टिकटका बलिया दाबेदार हुन् । विसं २०७० को चुनावमा पनि प्रत्यक्षतर्फ टिकटका लागि कन्दङ्वा र खापुङकै बीचमा दौडधुप भएको थियो । पार्टीका तर्फबाट एकैजना पटक–पटक उम्मेदवार हुँदा अन्य नेताको पालो नआउने भन्दै अधिक कार्यकर्ताको साथ कन्दङ्वासँग छ । 

हालै अध्यक्ष ओली गुटको भएकै कारण पनि कन्दङ्वाले टिकट पाउने सम्भावना प्रबल भएको एमाले नेताहरु बताउँछन् । दुवै नेताहरु अहिले टिकटका लागि दौडधुपमा छन् । जिल्लाबाट सिफारिसमा परेका  एमाले पूर्व सांसद विष्णुमाया विक पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छन । वाम गठबन्धनकै अर्को घटक माओवादी केन्द्रको जिल्लाबाट सर्वसम्मत छानिनुभएका विजय सम्बाहाम्फे पनि टिकटका लागि दौडधुप गरिरहनुभएको छ । यद्यपि यसअघि एमालेले जितेको क्षेत्र भएकाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका दुई नेताहरु खापुङ र कन्दङ्वाकै सम्भावना बलियो छ । 

नेपाली काँग्रेसले जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसके पनि नेत्री गुरुङले सेफ ल्याण्डिङ खोजेपछि पुनः पनि पार्टी केन्द्रीय समितिले उहाँको नाम समानुपातिकतर्फ नै सिफारिस गरेको खुलेको छ । 

जिल्लाकै लोकप्रिय महिला नेत्री गुरुङले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएपछि काँग्रेसलाई पूर्व सांसद तुलसी सुब्बा या पार्टी जिल्ला सभापति गोविन्द ढुंगानालाई उम्मेदवार बनाउने भन्ने अन्योल छ । यसअघि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा दुईपटक काँग्रेसबाट उम्मेदवार बनिसकेका तुलसी सुब्बाले अहिले समानुपातिकको बाटो रोज्नुभएको थियो । उहाँको नाम जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएको थियो । काँग्रेसमा पनि अहिले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि दौडधुप चलिरहेको छ । 

प्रदेश सभा सदस्यका लागि ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस जिल्ला सभापति ढुंगाना सर्वसम्मत सिफारिस भएका थिए । तर उहाँ आफैँ पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार हुनसक्ने भएपछि प्रदेश सभाका लागिसमेत प्रत्यक्षतर्फ काँग्रेसभित्र टिकट लिनेको दौडधुप छ । ‘ख’ निर्वाचन क्षेत्रमा समेत काँग्रेसबाट बलियो उम्मेदवारीका लागि दौडधुप छ । यो क्षेत्रमा निवर्तमान सांसद गणेश विमलीसमेत आकांक्षी छन । 

जिल्लाबाट आठराई गाउँपालिकामा पराजित उम्मेदवार नारायणकुमार इङ्नाम, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको थियो । वाम गठबन्धनबाट प्रदेश सभाका दुई क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चासमेत चलिरहेको छ । अहिले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चा चलेपछि टुंगो लागिनसकेको नेताहरुले बताएका छन् । प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पक्का जस्तै भएको बुझिएको छ । आकांक्षी जिविस पूर्व सभापति किशोरचन्द्र दुलालको नाम समानुपातिकतर्फ अटाएर जिल्ला अध्यक्ष तिवारी प्रत्यक्ष उम्मेदवार बन्ने निश्चित भएको चर्चा एमाले वृत्तमा छ । 

माओवादी केन्द्रलाई भाग लाग्ने ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागार्इं, पूर्व सभासद सुशीला कन्दङ्वालगायतको चर्चा छ । तर यो क्षेत्र पनि एमालेले नै लिएको खण्डमा एमालेका बाबुराम थापा र विश्वराज खापुङ टिकट लिने दौडधुपमा छन् । समानुपातिकतर्फ पनि उम्मेदवारका लागि बन्द सूचीमा नाम अटाउनका लागि नेताहरुको दौडधुप जारी छ । 

अन्य अधिकांश साना दलबाट भने जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरु नै उम्मेदवार बन्ने देखिएको छ । जिल्लामा काँग्रेस र वाम गठबन्धनकै बीचमा मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । यसअघिका दुई संविधान सभा निर्वाचनमा एकपटक काँग्रेस र एकपटक एमालेले जितेका थिए । स्थानीय निर्वाचनमा छमध्ये पाँचमा एमाले नै विजयी भए पनि झिनो मात्रै मतान्तर भएको र अहिले मतदाता पनि थपिएकाले उच्च प्रतिस्पर्धा हुने नेताहरुको विश्लेषण छ । 

जिल्लामा प्रदेशको निर्वाचनमा ‘क’ क्षेत्रमा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । आगामी निर्वाचनका लागि कूल ६६ हजार ७४३ जना मतदाता रहेका छन् । रासस

Logo