प्रचण्ड भन्छन– समयभित्रै निर्वाचन नभए संसद स्वतः पुनःस्थापना

प्रचण्ड भन्छन– समयभित्रै निर्वाचन नभए संसद स्वतः पुनःस्थापना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ कात्तिक ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताएका छन् ।

लक्ष्मण पन्तले लेखेको ‘आधुनिक नेपालको इतिहास (विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भए पनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गरे । उनले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी समेत दिए ।

उनले भने, “अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।”

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।

उनले भने,‘निर्वाचनलाई प्रभावित गर्न खोजिए देश र संविधानको लागि राम्रो हुन्न । यो देशमा परिवर्तनकारी मिल्न खोज्यो भने ठूलठूला षड्यन्त्र हुन्छन्, अहिले पनि भइरहेको त्यही हो ।’

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले इतिहास लेखनमा समाजवादी र प्रगतिशील अवधारणासहित पन्तले पुस्तक लेखेको बताए ।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले इतिहासलाई हेर्ने सम्बन्धमा दक्षिणपन्थी वा उग्रवामपन्थी दुवै दृष्टिकोण गलत हुने धारणा राखे । कुल ५५८ पृष्ठको यो पुस्तक त्यस अवधिको महत्वपूर्ण घटनाको समीक्षामा आधारित रहेर लेखिएको छ ।

Logo