छठमा ओलीको शुभकामना

छठमा ओलीको शुभकामना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ कात्तिक ।

नेकपा एमालेले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई शुभकामना संदेश दिएको छ । अध्यक्ष केपी ओलीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा भनिएको छ,– ‘सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व,भगिनीत्व,एकता र आत्मियताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

विज्ञप्तीको पूर्ण पाठ
सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व,भगिनीत्व,एकता र आत्मियताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक देश हो । यस देशमा बसोबास गर्ने हरेक जाति वा समुदायका आ—आफ्नै मौलिक चाडपर्व हुन्छन् । तिनलाई उत्साहपूर्वक मनाउनु नेपालीहरूको विशेषता नै हो । त्यतिमात्र होइन, एउटा भूगोल वा समुदायमा मनाउने गरिएको चाड अर्को भूगोल वा समुदायले पनि मनाएर एक आपसी प्रेम र सद्भाव बाँड्नु नेपालीको परिचय पनि हो । त्यसै अनुसार खासगरी तराइबासीहरूले मनाउने गरेको छठ पर्व अहिले पहाडी समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । यसले आपसी भातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुद बनाउन मद्दत गरेको छ भन्ने विश्वास मैले लिएको छु ।
नेपालमा राजनीतिक संघर्षको युग सकिएको छ । नेपालीहरूको अबको यात्रा विकास र समृद्धितर्फको हुनेछ । ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना पुरा गर्न हामी सबैले आ—आफ्नो ठाउँबाट यथेष्ट प्रयास गर्नु पर्नेछ । संविधानसभाले संविधान जारी गरेपछि अधिकांश राजनीतिक मुद्दाहरू किनारा लागेका छन् । बाँकी रहेका केही सानातिना विषय र असन्तुष्टीलाई आवश्यकता अनुसार सम्बोधन गरिनेछ । देशका सबै राजनीतिक दल, सरकार र समुदायको मुख्य ध्यान अब नेपालबाट गरिबी हटाउने र नेपालीहरूलाई समृद्ध बनाउनेमा नै केन्द्रित हुनुपर्छ ।
नेपालीको समृद्धिको चाहना पुरा गर्नका लागि देशको राजनीति स्थिर हुनपर्छ । नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले वाम गठन्धनको अभियान सुरुवात गरेका छौं । हाम्रो यस अभियानले आम जनतामा उत्साह छाएको छ । यो गठबन्धन कसैका विरुद्ध वा कसैका स्वार्थ पुरा गर्नका लागि नभइ देश निर्माणका लागि बनाइएको हो ।
आगामी महिना देशमा प्रतिनिधिसभा र प्रादेशिक सभाको निर्वाचन सम्पन्न हुँदैछ । केही महिना अघि देशमा स्थानीय तहको निर्वाचन भएर गाउँ–नगरहरूमा जनप्रतिनिधिले जनतालाई सेवा दिन थालेका छन् । अब हुने निर्वाचनमार्फत आउने जनप्रतिनिधिहरूले राजनीतिक मुद्दाहरूमा खासै अलमल गर्नुपर्ने छैन । उनीहरूको मुख्य ध्यान भनेकै नेपालको विकास, नेपालीको समृद्धिमा केन्द्रित हुनेछ । जसले गर्दा छोटो समयमा नै नेपालीका दुःखका दिन हटाउन सकिन्छ । त्यसैले सुखी नेपालीको चाहना पुरा गर्न आउने निर्वाचनमा हामीले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने कुशल जनप्रतिनिधिको छनौट गरेर पठाउनुपर्छ ।

 

 

Logo