लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए- प्रधानमन्त्री

लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ३ कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन् । 

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै प्रधानमन्त्री देउवाले भने – “लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ । ” 

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले “लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्”, भन्दै “लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा काँग्रेसको विजयी जरुरी छ,” बताए । वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उनले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गरे । 

प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै “कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्,” भने । राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उहाँले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताए । 

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको छ भने । 

काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली काँग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको काँग्रेस अझै लड्न तयार भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गरे  । 

काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायतले आसन्न निर्वाचनमा काँग्रेस मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिए । रासस

Logo