काँग्रेसमा कस्ता कस्ता व्यक्तिले टिकट नपाउने ?

काँग्रेसमा कस्ता कस्ता व्यक्तिले टिकट नपाउने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २० असोज ।  नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । 

पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिएका थिए । बैठकले यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले जानकारी दिए । 

उनले भने, “नेकाको आजको केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ ।” वाम एकता र ध्रुवीकरणले अगामी निर्वाचन समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका बैठकमा उठेको जानकारी दिँदै नेता बडूले यसलाई चिर्न निर्वाचन समयमै सम्पन्न गर्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने आवश्यकताको बोध बैठकमा भएको बताए  । 

बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाम एकता प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श विपरीत रहेको प्रतिक्रिया दिँदै यो एकता उनीहरुको सत्ता प्राप्तिको साधन मात्र हो भने । “वाम एकताले नेका विचलित र हतोत्साहितसमेत हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच बृहत् लोकतान्त्रिक प्रजातान्त्रिक एकता र सहकार्य आगामी निर्वाचनमा हुनेछ ।” 

अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गरे । उनले भने ‘आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबैको भावनालाई समेटी अगाडि बढ्न चाहन्छ ।” 

केन्द्रीय समितिको अर्काे बैठक आज साँझ पुनः बस्नेछ । रासस

Logo