लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २० असोज । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरेको थियो । बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गर्दै मंसिर १० र २१ गते हुने प्रदेश÷प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँड, न्यूनतम निर्वाचनका साझा कार्यक्रमलगायत विषयमा अगामी बैठकमा छलफल गर्ने निर्णयसमेत गरेको छ । 

ती आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा नेकातर्फबाट सहभागी नेता पूर्णबहादुर खड्काले राससलाई दिनुभएको जानकारी अनुसार आज साँझ बस्ने कार्यदलको बैठकमा गठबन्धनका साझा नीति तथा कार्यक्रमका बारेमा विस्तृतरुपमा छलफल हुने बताए । उनका अनुसार बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी छन् ।

कार्यदलको अर्काे बैठक आज साँझ ५ बजे बस्नेछ । रासस

Logo