‘एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौं’: गृहमन्त्री जनार्दन

‘एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौं’: गृहमन्त्री जनार्दन

केन्द्रबिन्दु
0
Shares

रुकुम, १९ असोज ।

गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्र्टीको आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताएका छन् ।

रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उनको भनाइ थियो ।

“एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरूले गरेका हुन्, हामीले जनयुद्ध गर्यौं”, नेता शर्माले भने, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ । वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल शुरु गरिएको हो ।” उनले थपे, “कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ ।’’

मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र नेकपा९एमाले०का अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताउँदै नेता शर्माले भने, “आरोप प्रत्यारोप त्यागेर वाम एकताका साथ उहाँहरु एक ठाउँमा आउनुभएको हो । यो कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।”

एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहने उनले बताए । अब ओलीको नेता प्रचण्ड र प्रचण्डको नेता ओली भएको उनको भनाइ थियो ।

तत्कालीन नेकपा९माओवादी०को २०६४ सालको काभ्रेको फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित भएको र त्यसपछि दुई पार्टीबीच धेरै छलफल भए पनि अहिले त्यो सफल भएको नेता शर्माले जानकारी दिए ।

फरक प्रसंगमा उनले रुकुम (पूर्व) पर्यटकीय हिसाबले निकै महत्व बोकेको जिल्ला र देशकै १० उत्कृष्ट प्रस्तावित सहर पनि रहेकाले यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

आजै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय उद्घाटन पनि गरिएको छ । अन्य सरकारी कार्यालय पनि छिट्टै स्थापना गरिने बताइएको छ । रासस

Logo