उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पदबाट हटाइए

उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम पदबाट हटाइए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता ।  १० असोज, काठमाडौं ।

दशैंको मुखैमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाइएको छ र उनलाई मन्त्रालयमा तानिएको छ । गौतमलाई सोझै पर्यटनमन्त्री जितेन्द्र नारायण देवको चासोमा हटाइएको बुझिएको छ ।

यसअघि मन्त्रालयबाट गौतमलाई दुई पटकसम्म स्पष्टीकरण सोधिएको थियो । गौतमले सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै उनलाई ‘मन्त्रालयमा हाजिर भएर मन्त्री जितेन्द्र देवलाई विभिन्न चार विषयमा नियमित रुपमा सुझाव दिने’ गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको थियो ।

गौतमलाई थमाइएको पत्रमा प्रशासन महाशाखाका उपसचिव प्रकाश शर्मा ढकालको हस्ताक्षर छ ।

गौतमलाई ‘नेपालको नागरिक उड्डयन क्षेत्रलाई समग्र सुधार गर्न अवलम्बन गर्नुपर्ने नीति र गर्नुपर्ने कामबारे सुझाव दिने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कोरियन कम्पनी एलएमडब्लूले तयार पारेको डीएफएसलाई अध्ययन गरी यस वापत भुक्तानी तिर्नुपर्ने सम्बन्धमा राय सुझाव दिने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य सबै राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यप्रगति उच्च नतिजामुखी बनाउन ठोस कार्ययोजनासहित राय सुझाव दिने र नेपालको नागरिक उड्डयनलाई थप सुरक्षित बनाउन स्थायी रुपमा हवाइ सुरक्षा जाँच व्यूरो स्थापना गर्ने सन्दर्भमा राय सुझाव दिने’ भनिएको छ ।

गौतम २७ महिनाअघि चार वर्षका लागि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा नियुक्त भएका थिए ।

गौतम सोमबारदेखि नै विदामा बसेका छन् ।

Logo