राजपाका सह–महामन्त्री बेग र पूर्व माओवादी नेता डा मनोज सिंह एमाले प्रवेश

राजपाका सह–महामन्त्री बेग र पूर्व माओवादी नेता डा मनोज सिंह एमाले प्रवेश

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ असोज ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सह–महामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बेग आफ्ना सहयोगीसहित एमाले प्रवेश गरेका हुन् । कपिलवस्तुका बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अबीर माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

त्यस्तै, हिजै शनिबार मात्र गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका छोरा तथा माओवादीका पूर्वकेन्द्रीय सदस्य डा मनोजकुमार सिंह पनि दलबलसहित एमालेमा प्रवेश गरेका थिए ।


एमाले प्रवेश गर्ने क्रममा सिंहले जातीय क्षेत्रीय अतिवादले एमालेविरुद्ध प्रदेश २ मा भ्रमपूर्ण प्रचार गरेको र अब त्यसलाई परास्त गर्नुपर्ने बताएका थिए ।

जातीय क्षेत्रीय अतिवादलाई मूल प्रवृत्ति बनाएर योजनाबद्ध रूपमा चलाइएका भ्रमले २ नम्बर प्रदेशमा एमालेलाई स्थानीय चुनावमा कमजोर जस्तो देखाए पनि जनतामा स्पष्टता बढ्दै गएको उनको भनाइ थियो ।

नवप्रवेशीलाई एमालेमा स्वागत गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै भूगोल, जात र क्षेत्र विशेषको पार्टी नभएर राष्ट्रिय पार्टी भएको बताए । २ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको बताए । उनले मधेसमा अझै मिहिनेत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने योजना पनि सुनाए ।

Logo