प्रदेश २ : प्राप्त मत परिणामका ५ रोचक पक्ष

प्रदेश २ : प्राप्त मत परिणामका ५ रोचक पक्ष

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज ।

स्थानीय निर्वाचनअन्तर्गत गत सोमबार सम्पन्न प्रदेश नम्बर २ को मतपरिणाम आउने क्रम जारी छ । अहिले १३६ मध्ये १३३ स्थानको मतगणना भैरहेको छ । केही ठाउँमा भने विवादका कारण मतगणना रोकिएको छ ।

यद्यपि अहिलेसम्म गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको विजयी नतिजा आइसकेको छैन । तर अहिलेसम्म प्राप्त नतिजाहरू भने रोचक देखिएका छन् ।

राजपाभन्दा फोरमको गतिलो उपस्थिति

पहिलो र दोश्रो स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले तेस्रो चरणको निर्वाचनमा भने भाग लिएको छ । तर अहिलेसम्म प्राप्त नतिजालाई आधार मान्दा ६ दल एक भएर चुनावमा होमिएको राजपाभन्दा एक्लै लडेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको उपस्थिति बलियो देखिएको छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी एकता भएर राष्ट्रिय जनता पार्टी (राजपा) दर्ता भएको थियो ।

अहिले संघीय समाजवादी फोरमले १९ स्थानमा अग्रता लिइरहेको छ भने राजपाले जम्मा १४ स्थानमा अग्रता लिन सफल भएको छ । वीरगंज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा राजपाको उपस्थिति निकै बलियो देखिए तापनि जीतपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र लहान नगरपालिकामा उसको उपस्थिति लज्जास्पद देखिएको छ ।

वीरगंज महानगरपालिकामा संघीय समाजवादी फोरमले नेकपा एमाले र माओवादी केन्द्रलाई समेत पछि पारेको छ भने कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरम पार्टीले नै अग्रता लिइरहेको छ । लहान नगरपालिकामा पनि उसको उपस्थिति हेर्न लायक छ ।

फोरमले सिरहाको औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सुखीपुर नगरपालिका, भगवानपुर गाउँपालिका त्यस्तै बाराको कलैया उपमहानगरपालिका, धनुषाको कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिका, जनकनन्दनी गाउँपालिका, सप्तरीको बोदेबरसाइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, पर्साको पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, धोबिनी गाउँपालिका, रौतहटको माधवनारायण नगरपालिका, महोत्तरीको मनरा सिसवा नगरपालिका र सोनमा गाउँपालिकामा अग्रता लिइरहेको छ ।

एमालेलाई हम्मे हम्मे

पहिलो र दोस्रो स्थानीय निर्वाचनमा पहिलो बनेको नेकपा एमालेलाई तेस्रो चरणको चुनाव हम्मे हम्मे देखिएको छ । अहिलेसम्मको नतिजा आंकलन गर्दा पहिलो स्थानमा नेपाली कांग्रेस छ भने एमाले दोस्रो स्थानमा छ । एमालेले जम्मा २१ स्थानमा अग्रता लिइरहेको छ । एमाले दोस्रो स्थानमा सुरक्षितभन्दा पनि टिकिरहेको मात्र छ । एमालेलाई संघीय समाजवादी फोरमले रफ्तारमा पछ्याइरहेको छ ।

यसरी हेर्दा एमाले पहिलो स्थानमा आउने सम्भावना न्यून हुँदै गएको छ भने दोस्रोमा पनि आउने हो कि होइन भने आशंका बढ्न थालेको छ । एमालेका लागि यो ठूलो चुनौती बन्दै गएको छ । वीरगंज महानगरपालिकामा संघीय समाजवादी फोरमभन्दा नेकपा एमाले पछाडि छ ।

जनकपुर उपमहानगरपालिकामा पनि एमालेको उपस्थिति कमजोर देखिएको छ । जितपुर सिमरा उपमहानगरपालिका र लहान नगरपालिकामा अग्रता लिए पनि कलैया उपमहानगरपालिकामा दोस्रो स्थानमा छ ।

अहिलेसम्म बाराको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, आदर्शकोटहवा गाउँपालिका, त्यस्तै सिरहाको लहान नगरपालिका, कर्जना नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानानकारकट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका, ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, पर्साको पटेरुवा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, रौतहटको गौर नगरपालिका, यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, बलान बिहुल गाउँपालिका, धनुषाको मिथिला नगरपालिका, मुखियापट्टी मुसहरमिया गाउँपालिका, औरही गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

माओवादी चौथो !

अघिल्ला दुई निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रलाई यो निर्वाचनमा आफ्नो स्थान सुरक्षित राख्न सकस परेको छ । निर्वाचनका लागि भन्दै माओवादी अध्यक्ष प्रचण्ड लामो समय मधेसमा बसेर प्रचार प्रसार अभियान थाले पनि अहिलेसम्मको नतिजा नियाल्दा अवस्था सुधारोन्मुख छैन ।

पछिल्लो परिणामअनुसार माओवादी केन्द्रको हालत नाजुक देखिन्छ । कतिसम्म लज्जास्पद नतिजासमेत सार्वजनिक भएको छ भने जनकपुर उपमहानगरपालिकामा राजपाले १५ सय भोट ल्याइसक्दा माओवादीले जम्मा ५ भोट पाएको छ ।

अग्रताको आधारमा माओवादी केन्द्र संघीय समाजवादी फोरमभन्दा पनि पछाडि अर्थात् जम्मा १६ स्थानमा अगाडि छ । यद्यपि जितपुर सिमरा उपमहानगरपालिकामा भने दोस्रो स्थानमा रहेर एमालेलाई पछ्याइरहेको छ । लहान नगरपालिका र कलैया उपमहानगरपालिकामा माओवादीको उपस्थिति न्यून छ ।

अहिलेसम्म सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, अर्नवा गाउँपालिका, धनगढीको धनगढी नगरपालिका, अर्नमा गाउँपालिका, रौतहटको मौलापुर गाउँपालिका, बौद्धिमाई गाउँपालिका, फतुवा विजयपुर नगरपालिका, धनुषाको सवैला नगरपालिका, धुनषाधाम नगरपालिका, सर्लाहीको बागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, पर्साको ठोरी गाउँपालिका, छिपहरामाई गाउँपालिका, पकाहामैनपुर गाउँपालिका र महोत्तरीको गौशाला नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ ।

गुमनाम फोरम लोकतान्त्रिक

यो चुनावमा उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको उपस्थिति नाजुक देखिएको छ । पछिल्लो नतिजालाई आधार मान्ने हो भने महोत्तरीको जलेश्वर एक स्थानमा मात्र अग्रता लिइरहेको छ ।

विद्रोही उम्मेदवारको छलाङ्

महोत्तरीको पिपरा गाउँपालिकामा राजपाका विद्रोही स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

 

Logo