मतदाताको अपार सहभागिता, सप्तरीमा ३५ र महोत्तरीमा २० प्रतिशत मत खस्यो

मतदाताको अपार सहभागिता, सप्तरीमा ३५ र महोत्तरीमा २० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरीको औरही नगरपालिकाकी ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेकी छन् ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार बिहान नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कठुधार मतदान केन्द्रमा केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिकास्थित लक्ष्मीपुर टोलस्थित गम्हरिया मतदान केन्द्रमा विदेशमा रहेका मुक्त रुल्लाह मियाँको नाममा त्यहाँ बस्ने १४ वर्षीय सबु महम्मद मियाँले भोट हाल्न गएकामा मतदान अधिकृतले पहिचान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको र बाराको पचरौता नगरपालिका विसम्बरास्थित नेपाल राष्ट्रिय प्रावि मतदान केन्द्रमा सोही स्थानमा बस्ने एर्साद अहमदले आफ्ना दाजुको नाममा मतदान गर्न खोज्दा प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ ।

धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं ३ मौर्याई पुल भत्केर आवतजावतमा कठिनाइ उत्पन्न भएकामा सशस्त्र प्रहरी बलले तत्कालै डाइभर्सनमार्फत यातायातका साधन मतदान केन्द्रसम्म जाने व्यवस्था मिलाएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको विभिन्न पदका लागि आज भएको निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको अपार सहभागिता देखिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सप्तरीमा ३५ प्रतिशत मत खस्यो

प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गरेको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेकी थिइन् । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गरेको बताइएको छ ।

यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताए ।

अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यपूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको उनले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् । रासस

Logo