प्रदेश २ मा उत्साही मतदाता शान्तिपूर्ण मतदान, सर्लाहीमा ११६ वर्षीयले गरे मतदान

प्रदेश २ मा उत्साही मतदाता शान्तिपूर्ण मतदान, सर्लाहीमा ११६ वर्षीयले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ असोज ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार उनले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

सो प्रदेशका केही मतदान केन्द्रमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केहीमा गए राति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

आयोगका अनुसार, बिहान ११ः०० बजेसम्ममा करिब २५ प्रतिशत मतदान भइसकेको छ । मतदान कार्य अपराह्न ५ः०० बजेसम्म जारी रहनेछ ।

दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव

यसैबीच राजविराज (सप्तरी)बाट प्राप्त समाचारअनुसार, संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरे ।

त्यस मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेकी छन् । सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भइरहेका छन् ।

यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनावपूर्ण रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (राससको सहयोगमा)

Logo