कांग्रेस नेता प्रदीप पौडेल जापानी इमिग्रेसनबाट फर्काइए

कांग्रेस नेता प्रदीप पौडेल जापानी इमिग्रेसनबाट फर्काइए

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असोज ।

साथमा पर्याप्त कागजात नभएको हुँदा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल केही घण्टा जापानी अध्यागमनको नियन्त्रणमा रहेर त्यहीँबाट नेपाल फिर्ता पठाइएका छन् । पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो ।

शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई भने अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेन । र, अन्ततः फिर्ता पठाइयो ।

जापानस्थित नेपाली जनसम्पर्क समितिको एक सूत्रले जनाएअनुसार गुरुङ र पौडेलहरुका साथमा पार्टीसँग असम्बन्धित केही मानिसहरु पनि थिए । धनराज गुरुङपछि इमिग्रेसन जाँचमा पुगेका उनीहरुले जापानबाट नेपाल फर्किने कुरामा आश्वस्त पार्ने गरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल र न्यौपाने पनि उनीहरुसँगै नियन्त्रयणमा परेका हुन् ।

गुरुङसँग रातो पासपोर्ट भएकाले बिना चेकजाँच सहजै आउन पाए पनि पौडेलसँग रातो पासपोर्ट नभएकाले समस्या आएको बताइएको छ ।

यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता कुमार पौडेल लगायतका नेतालाई पनि अध्यागमनबाट फर्काइएको थियो । त्यस्तै सीपी गजुरेल, पत्रकार ऋषि धमला लगायतलाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् ।

 

Logo