यी हुन् प्रदेश २ को स्थानीय चुनावका ९ रोचक पक्ष

यी हुन् प्रदेश २ को स्थानीय चुनावका ९ रोचक पक्ष

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० भदौ ।

प्रदेश नम्बर २ मा सोमबार असोज २ गते तेस्रो चरणको स्थानीय चुनाव हुँदैछ । आज शुक्रबार चुनाव प्रचारको अन्तिम दिन हो । आज राती मध्यरात १२ बजेपछिदेखि कुनै पनि किसिमको र कसैगरी पनि चुनावी प्रचारप्रसार गर्न नपाइने ‘मौन अवधि’ सुरु हुनेछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि दल तथा उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ(आफ्ना निर्वाचन चिहृन तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिहृन अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगले एस।एम।एस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मतमाग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

मौन अवधि सञ्चारमाध्यमहरु समेत सचेत हुनुपर्नेछ । यो अवधिमा सञ्चारमाध्यमहरुले उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशत प्रसारण गर्न नपाउने आयोगको सूचनामा उल्लेख छ ।

यसै सन्दर्भमा प्रदेश २ को यस निर्वाचनसित जोडिएका ९ रोचक प्रसंग यहाँ प्रस्तुत गरिएको छ–

१. डाक्टरहरूको भिडन्त


सिरहा नगरपालिकामा ३ जना चिकित्सकले एउटै पदमा प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेसबाट डा. सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टी, नेपालबाट डा. दिलीप सदाय चुनावी मैदानमा छन् । ३ जना डाक्टर एकआपसमा भिडेकाले सिरहामा चुनावको छुट्टै रौनक छ । सिरहा नगरपालिका प्रमुखका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राजपा, नयाँ शक्ति, नेकपा माले लगायतका दलका तर्फबाट नौ र स्वतन्त्र नौ गरी १८ जनाले उम्मेदवारी दिएको सिरहाका मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिएका छन् ।

२. भुजा पसल छोडेर श्रीमान–श्रीमती मेयर र उपमेयर उम्मेदवार


वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवार दिने मुन्नाकुमार साह कानुको चर्चा यतिबेला चुलिएको छ । उनको मात्रै होइन उनकी श्रीमती बबितादेवी साह कानुको चर्चा पनि उत्तिकै छ । भुजा–पकौडी बेचेर गुजारा गर्दै आएका उनीहरूले पसल नै बन्द गरेर महानगरपालिकाको मेयर र उप–मेयरमा उम्मेदवारी दिएका छन् । उनीहरूलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो ।

रानीघाटस्थित सिर्सिया पुलनजिकै भुजा–पकौडी पसल चलाउँदै आएका ३२ वर्षीय मुन्ना र २७ वर्षीया बबिता दम्पती मेयर र उपमेयरको उम्मेदवार बनेपछि छिमेकी आश्चर्यमा छन् ।

देश–विदेशमा चर्चित वीरगन्ज सहरको कन्तबिजोग देखेर दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएको मुन्ना बताउँछन् ।

३.दुई छोरा चुनाव बहिस्कारमा, एक छोरा र छोरी उम्मेदवार
चुनावमा जे पनि हुन्छ भन्ने एउटा तथ्य जनकपुरमा देखिएको छ । परिवारका सदस्यहरू भिन्न–भिन्न पार्टीबाट उम्मेदवार बन्नु त सामान्य बनिसक्यो तर जनकपुर उपमहानगरपालिका–८ मा एकै परिवारका दुई सदस्य उम्मेदवार र दुई सदस्यले चुनाव बहिस्कारको पक्षमा लागेको रोचक पक्ष सार्वजनिक भएको छ ।
जनकपुर उपमहानगरपालिका–८ का स्वर्गीय कृष्णचन्द्र मिश्र र आशादेवी मिश्रका चार छोरा दुई छोरी छन् । ६ सन्तान मध्येबाट दुई भाइ बहिनी असोज २ गते हुने स्थानीय चुनावको उम्मेदवार उठेका छन् । दुई भाइ चुनाव बहिस्कारको पक्षमा उभिएका छन् ।

दिदी पूनम नेकपा एमालेबाट जनकपुर उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार छन् । यस्तै कान्छो भाइ अम्भोज मिश्र राजपा नेपालबाट जनकपुर उपमहानगरपालिका–८ मा वडा सदस्यको उम्मेदवार छन् । दिदी र भाइ उम्मेदवार भए पनि माहिला छोरा सरोज मिश्र र साहिंला छोरा अनुज मिश्र चाहिँ चुनाव बहिस्कारको पक्षमा छन् । संविधान संशोधनविना कुनै पनि हालतमा चुनावमा भाग नलिने भन्ने मधेसवादी दलहरू अन्ततः चुनावमा सहभागी भए पनि सरोज र अनुज अहिलेसम्म संविधान संशोधनविना कुनै पनि हालतमा चुनावमा नजाने भन्दै चुनाव बहिस्कारको पक्षमा दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

छोराछोरीहरू चुनावको पक्षमा र विपक्षमा उभिएपछि आमा आशादेवी मिश्र समस्यामा परेका छन् ।

४. बिजुली चोर अभियुक्त नै उम्मेदवार
जनकपुर उपमहानगरपालिकामा बिजुली चोरी गरेको अभियोगमा सजाय पाएको व्यक्ति नै उम्मेदवार बनेका छन् । दुई वर्षअघि बिजुली चोरेको अभियोगमा पक्राउ परी ३ लाख ४१ हजार जरिवाना तिरेर छुटेका हंसराज गुप्तालाई नेपाल लोकतान्त्रिक फोरमले उम्मेदवार बनाएका हो । दशरथ तलाउनजिक रहेको मिठाइ कारखानामा मिटर बिगारेर बिजुली चोरेको अभियोगमा पक्राउ परेपछि उनलाई प्राधिकरणले जरिवाना तिराएको थियो ।

५. घुम्टो ओढ्नेहरू नगरपालिकाको मेयर ताक्दै
जनचेतनाको विकाससँगै मधेसी दलित समुदाय पनि अग्रसर देखिएका छन् । घुम्टो ओढ्ने र घरबाट बाहिर निस्कन डराउने मधेसी दलित समुदायका महिलाहरू स्थानीय तहको नेतृत्व सम्हाल्नका लागि कम्मर कसेर अगाडि बढेका छन् ।

तराई मधेसमा दलित भनेर हेपिंदै आएका चमार, मुसहर समुदायका महिलाहरू महोत्तरीको गौशाला नगरपालिकाको नेतृत्व सम्हाल्न भनेर लागेका छन् । उनीहरू हातमा पार्टी अंकित, झण्डा, नमुना मतदानपत्र लगायतका प्रचारप्रसार सामग्री लिएर दिनभरि नै भोट माग्दै आएको पाइएको छ ।

 

मेयरकी उम्मेदवार गौशाला नगरपालिका–११ की फूलकुमारी सदाले समाजमा सदियौँदेखि कायम रहेको भेदभाव र छुवाछुतको अन्त्य तथा समाज विकास नै आफ्नो मुख्य एजेण्डा रहेको बताइन् ।

३८ वर्षकी सदाले ऐलानी जग्गामा बसोबास गर्दै आएकी सदाले भनिन्, ‘आफूसँग न त टल्केको घर छ न त पजेरो नै, समाजसेवामा इच्छुक भएका कारण उम्मेदवारी दिएको हो ।’

यता राप्रपाले पनि बडा सदस्यमा गौशाला नगरपालिका–११ बाट ६५ वर्षकी कुल्फी देवीलाई उम्मेद्वार बनाएका छन् ।

६. भैंसी बेचेर उम्मेदवारी दर्ता
झट्ट सुन्दा अनौठो लागे पनि यो सत्य हो । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो । उनले ७७ हजार रुपैयामा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले जानकारी दिए ।

बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेको अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताए ।

प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उहाँको चुनावका लागि गाउँमा पाँच-पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर (खानपानको व्यवस्था) पनि गरिरहेको जनाएको छ ।

७. उम्मेदवार नै भोट हाल्न जान्दैनन
नगराइन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी सुमित्रादेवी पासवान आफैंलाई भोट हाल्न जान्दिनन् । कसरी मतदान गर्ने र कुनकुन चिह्नमा स्वस्तिक छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने पनि थाहा छैन । एमालेबाट उम्मेदवार बनेकी पासवान दलका कार्यकर्तासँगै घरघर डुल्दैछिन् । कतिसम्म भने उनले आफू चुनाव लडेको वडा र पार्टीको नाम समेत भन्न सक्दिनन् ।

८. आन्दोलनका छोरा र बाबु गुमाउँदा पनि टिकट पाएनन्  
मधेस आन्दोलनका क्रममा छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का सहिद परिवारले टिकट नपाएपछि स्थानीय रुष्ट बनेका छन् । गत वर्ष भदौ २३ र २५ गते राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका हुन् ।

जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर–८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए ।

९. दश पुरुष उमेदवारलाई एक महिलाको चुनौती
गुजरा नगरपालिका प्रमुखमा १० पुरुष उम्मेदवारलाई थारू समुदायकी एकमात्र महिला उम्मेदवारले कडा चुनौती दिँदै निर्वाचनमा होमिएकी छन् ।
नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी रामेश्वरी चौधरीले अन्य १० पुरुष उम्मेदवारलाई निर्वाचनमा हराएर आफू नगरप्रमुख पदमा निर्वाचित हुने दाबीसमेत गरेकी छन् । रौतहटमा पाँच महिलाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् ।

 

Logo