आचारसंहिताले सरकारलाई अप्ठेरो नपरेको देउवाको दावी

आचारसंहिताले सरकारलाई अप्ठेरो नपरेको देउवाको दावी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । विराटनगर, २७ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको जिकिर गरेका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरूसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने उल्लेख गरे ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले अगाडि भने, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध छ ।”

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुर मात्रामा रहेको उल्लेख गरे ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उनले यस विषयमा छानबिन भइरहेको जानकारी दिए ।

नेपाली काँग्रेसको सभापतिसमेत रहेका देउवासमक्ष पत्रकारको जिज्ञासामा उनले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने पनि स्पष्ट पारे ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको उल्लेख गरे ।

प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गरेका राससले जनाएको छ ।

Logo