माउ पार्टी छोडेपछि बिचल्लीमा परेका ५ नेता

माउ पार्टी छोडेपछि बिचल्लीमा परेका ५ नेता

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य । काठमाडौं, २६ भदौ ।

डाक्टर बाबुराम भट्टराई
बाबुराम भट्टराई नेपालका आशालाग्दा नेता हुन् । उनको ‘पोलिटिकल करियरको ग्राफ’ले त्यसै भन्छ । तर पछिल्लो अवस्था उनी अनुकुल वाटोमा छैनन् ।

कुरा सुरु गरौं उनका राम्रा दिनबाटै । माओवादी जनयुद्धकालमा भूमिगत हुने सार्वजनिक व्यक्तित्वमध्ये बाबुरामको कद सबैभन्दा अग्लो थियो । माओवादी जनयुद्ध सफल पार्न मात्रै होइन, माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर देशकै स्थापित पार्टी बनाउन समेत बाबुरामको योगदान महत्वपूर्ण छ । अर्थमन्त्री छँदा सोचेभन्दा बढी कर उठाएका बाबुराम भट्टराईले प्रधानमन्त्री छँदा देशभरको बाटो बिस्तार गर्नेदेखि लुघ–उद्यममार्फत रोजगारीको सिर्जना गर्नका लागि महत्वपूर्ण निर्णयहरु गरे । निर्विवाद रुपमा बाबुराम नेपाली राजनीतिका एक लोकप्रिय व्यक्तित्व हुन् ।

तर संविधानसभाबाट संविधान जारी भएपछि नयाँ वैकल्पिक शक्ति निर्माणको बहस चलाउनका लागि पार्टी छाडेका बाबुरामको ‘करियरको ग्राफ’ ओरालो लाग्दो छ । उनले लामो बहसपछि एक वर्षअघि नयाँ शक्ति नेपाल स्थापना गरे । तर नयाँ शक्ति नेपाली राजनीतिको नौलो शक्ति बन्न सकेन । पार्टीमा माओवादी जनयुद्धको पृष्ठभूमि भएका नेता र अन्य पृष्ठभूमिबाट आएका नेताहरुबीच मत बाझियो । यसको चेपुवामा संयोजक बाबुराम भट्टराई परे । नयाँ शक्तिका धेरै परिचित नेताले उक्त पार्टी छोडिसकेका छन् ।

उनको पार्टीले स्थानीय तहको निर्वाचनमा माओवादीलाई केही क्षेत्रमा हराउन भूमिका खेल्ने बाहेक अरु उपलब्धि हासिल गरेन अर्थात बाबुराम आफु पनि हारे र माओवादीलाई पनि हराए । बाबुराम भट्टराई आफैंले आफैंलाई यतिसम्म कमजोर ठाने, उनी राजनीतिक रुपमा आफुभन्दा निकै जुनियर उपेन्द्र यादवको नेतृत्वमा संघीय समाजवादी फोरममा दोस्रो वरियताको नेता बन्न समेत तयार भए । तर विविध कारणवस एकता हुन सकेन । संघीय समाजवादीकै चुनाव चिन्ह लिएर नयाँ शक्तिका उम्मेदवारहरु स्थानीय तहको निर्वाचनमा होमिएका थिए । तर नतिजा राम्रो आएन । अहिले भट्टराई नयाँ शक्तिलाई नै मजबुद बनाएर अघि बढ्ने वा फेरि माओवादी फर्कने भन्ने दोसाँधमा भएको हुनुपर्छ ।

 

अशोक राई
अशोक राई कुनै समय एमालेका प्रभावशाली नेता थिए । हुनत उनी अहिले पनि संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका नेता छन् । तर रोचक कुरा के छ भने फोरमका अध्यक्ष उपेन्द्र यादव कुनै समय राईकै कार्यकर्ता थिए ।

एमालेको आठौं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका राईले आफुमाथि एमाले कार्यकर्ताले देखाएको भरोसालाई न्याय गर्न सकेनन् । जनजातिको मुद्दा बोकेर पहिलो संविधानसभामा सांसद्हरुको छुट्टै समूह ‘ककस’ निर्माण गरेका राई संघीय समाजवादी पार्टी खोलेर एमालेबाट बाहिरिएका थिए । संघीय समाजवादीले दोस्रो संविधानसभा निर्वाचनमा राम्रो नतिजा निकाल्न नसकेपछि उनी एक्लै लडेर सकिन्न भन्दै फोरमसँग एकता गर्न पुगे । एमालेबाट बाहिरिएपछि बिचल्लीमा परेका राई फोरमसँगको एकतापछि भने राष्ट्रिय राजनीतिमा केही हदसम्म आफ्नो भूमिका स्थापित गर्न सफल छन् । तर एमालेमा छदाँ संसदिय दलको नेतृत्व गर्नसक्ने तथा प्रधानमन्त्री समेत चलाउन सक्ने नेता भनिएका राईको शक्ति पहिलेजस्तो कहाँ छ र ?

२०६३ अघि पार्टी छाड्ने
सीपी मैनाली

एमालेबाट ठूलै शक्ति बोकेर उनले नेकपा माले गठन गरे । तर पार्टी विभाजनपछि भएको तत्कालीन संसदीय चुनावमा मालेले देशभर १ सिट पनि जित्न सकेन । त्यसपछि सीपीको यात्रा ओरालो लाग्यो । बामदेव गौतमसहित एमालेबाट पार्टी फुटाएर गएका धेरै नेता एमालेमै फर्किए । अहिले राष्ट्रिय राजनीतिमा पनि छन् । सीपी मालेका महासचिव छन् । तर एमाले राष्ट्रिय राजनीतिमा ‘हेभिवेट’ का रुपमा कायम छँदा माले राष्ट्रिय राजनीतिको ‘फुच्चे’ पार्टी भनेर चिनिन्छ । राष्ट्रिय राजनीतिमा मालेको कुनै भूमिका र एजेन्डा छैन ।

पार्टी फुटाएर गएको २० वर्षपछि उनी माउ पार्टी एमालेकै एजेन्डा वरपर घुमिरहेका छन् । महाकाली सन्धीलाई राष्ट्रघाती भन्दै उनले पार्टी छाडेका थिए । तर त्यतिबेला महाकाली सन्धी गर्ने केपी ओली प्रधानमन्त्री हुने बेला सीपीले उनलाई समर्थन गरे । ओलीले पनि सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएर गुन लगाए । यसरी ओलीलाई राष्ट्रघाती देखेर पार्टी छाडेका सीपी अन्तत ओलीकै शरण आए । अर्थात उनी न घरको भए न त घाटकै भए ।

राजनीतिमा स्पष्ट विचार राख्ने सीपीले आफ्ना विचारलाई न कार्यान्वयन गर्न सके, न स्थापित नै गर्न सके । राजनीतिक अडान र स्थितरताको कमी तथा अवसरवादी चिन्तन हाबी भएका कारण सीपीको भूमिका खुम्चिएको विश्लेषकहरु बताउँछन् । एमालेमै संघर्ष गरेको भए उनीसँग अध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बस्ने क्षमता रहेको विश्लेषकहरुको भनाइ छ । अवसरवादी सीपी पनि झापा विद्रोहबाटै राष्ट्रिय राजनीतिमा स्थापित भएका व्यक्तित्व हुन् ।

 

प्रकाश कोइराला
पूर्वमन्त्री प्रकाश कोइराला त गुमनाम नै भए । वीपीपुत्र प्रकाशका भाई शंशाक कोइराला अहिले कांग्रेसको महामन्त्री छन् । शशांकले राजनीति सुरु गर्नुअघि राष्ट्रिय राजनीतिमा प्रकाश चर्चाका पात्र थिए । तर उनी राजा ज्ञानेन्द्रको शासनकालमा पार्टी नीति विपरित मन्त्री बन्न गए । आफ्नै काका गिरिजाप्रसाद कांग्रेसका सभापति थिए । गिरिजाप्रसादले उनलाई त्यतिबेला रोक्न सकेनन् । रुष्ट भएका गिरिजाले पार्टीबाटै निलम्बित गरे । शाही शासन ढल्यो । प्रकाशका दिन पनि सकिए ।

 

राधाकृष्ण मैनाली
उनी सीपी मैनालीका सहोदर दाजु हुन् । सीपीले एमालेबाट फुटाएर माले गठन गर्दा दाजु राधाकृष्ण (आरके) एमालेमै थिए । केपी ओली, सीपी मैनाली र आरके मैनाली तीनैजना २०२८ सालको झापा विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका अनुहार हुन् । भाई सीपी पार्टी फुटाएका कारण राष्ट्रिय राजनीतिमा खुम्चिए । दाजु आरकेको अवस्था भाईको भन्दा पनि फरक छ ।

आरके एमालेको नीति विपरित राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि शिक्षामन्त्री बने । त्यसपछि राष्ट्रिय राजनीतिका उनका लागि कहिल्यै सूर्य उदाएन । ओझेमा परेका आरके गणतन्त्र स्थापनापछि माओवादी प्रवेश गरे । माओवादीले केन्द्रीय सल्लाहकार बनाएपनि उनका सल्लाह सुनेन । त्यसपछि उनी एमालेमै फर्किए ।

झापा विद्रोहताका एकसाथ जेल बसेका केपी ओली पार्टी अध्यक्ष छन् । ओली प्रधानमन्त्री समेत बनिसके । तर आरकेको भूमिका पार्टीको केन्द्रीय सदस्यमै सिमित छ ।

 

Logo