उद्धार र राहतमा प्राथमिकता दिन सरकारलाई सांसदहरुको आग्रह

उद्धार र राहतमा प्राथमिकता दिन सरकारलाई सांसदहरुको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३१ साउन ।

व्यवस्थापिका–संसदको मंगलबारको विशेष समयमा सांसद्हरूले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गरेका छन् ।

सांसदहरूले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गरे ।

नेपाली काँग्रेसका महेश आचार्यले सरकारले बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता दिनुपर्ने र यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सरकारका भ्रमण, गोष्ठी जस्ता कार्यक्रमका खर्च कटौती गरेर पीडितलाई सहयोग गर्नुपर्ने सुझाव पनि दिए ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले विपत्तिका बेलामा सत्ता पक्ष र विपक्ष सबै मिलेर राहत, उद्धार र पुनःस्थापनाका कामका खट्नुपर्ने बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्शुराम तामाङ, राष्ट्रिय जनता पार्टीका डा डिम्पलकुमारी झा, सांसद् लालबाबु राउत, योगेन्द्र चौधरी, शिवचन्द्र चौधरी, अनुराधा थापामगर, दुर्गा पौडेल, मिलनकुमारी राजवंशी, हरिचरण शाह, राधेश्याम अधिकारी, दीपक गिरी, हरिलाल ज्ञवाली, गीता राणा क्षेत्री, महेन्द्र राय यादव, शिवजी यादव, नागेन्द्रकुमार कुमाल, किरण यादव, सुरेन्द्रप्रसाद जैसवाल, जंगीलाल राय, विश्वेन्द्र पासवान र लक्ष्मीकुमारी चौधरीले वर्षा र बाढी प्रभावित जनतालाई शीघ्र राहत बाँड्न र पुनःस्थापना गर्न आग्रह गरे ।

आजको बैठकको कार्यसूचीमा सोही विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव रहेकाले विशेष समयमा त्यही विषय नलम्ब्याउन नेकपा एमालेका सांसद्हरूले माग गरेपछि सभामुख ओनसरी घर्तीले सांसदहरुले बोल्ने क्रम छोट्याएकी थिइन् । तर सत्तापक्ष नेपाली काँग्रेसका सांसदहरूले विशेष समयमा थप केही सांसदले बोल्न नाम लेखाएकाले बोल्न पाउनुपर्ने माग गरेर अवरोध गरेपछि बैठक आजै १५ मिनेटका लागि स्थगन गरिएको छ । रासस

Logo