राप्रपाको आकस्मिक बैठक हेटौंडामा

राप्रपाको आकस्मिक बैठक हेटौंडामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौ, ३१ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ ।

पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनाीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले बैठक यस पटक हेटौँडामा बस्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

यही साउन ४ देखि ७ गतेसम्म काठमाडौंमा भएको केन्द्रीय समितिको बैठक पार्टी विभाजनपछि आकस्मिक रूपमा बोलाइएको हो । पार्टीका रिक्त पदाधिकारी पदमा मनोनयनका विषयमा छलफल गरी उपयुक्त नेतालाई जिम्मेवारी पनि दिइने सम्भावना छ ।

वैचारिक रूपमा निकट रहेका विभिन्न राष्ट्रवादी शक्तिसँगको एकता तथा प्रादेशिक र केन्द्रीय चुनावमा पार्टीले सफलता प्राप्त गर्न खेल्नुपर्ने भूमिकाबारे बैठकमा योजना बनाइने छ । प्राकृतिक विपदमा मानवीय सहयोग तथा उद्धारका लागि पार्टीको भूमिकाको सम्भावना, देशमा विकास भएको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, तेस्रो चरणको स्थानीय निर्वाचनको मूल्यांकनसमेत बैठकमा गरिने छ ।

पार्टीमा कुल १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा यही साउन २२ गते पशुपतिशम्शेर जबरा समूहले उक्त दलको ४० प्रतिशतभन्दा बढी नेतासहितको हस्ताक्षर लिएर निर्वाचन आयोगमा दल दर्ता गराएको थियो । रासस

Logo