नदीमा बेपत्ता यादव फेला परेनन्, खोजी जारी

नदीमा बेपत्ता यादव फेला परेनन्, खोजी जारी

केन्द्रबिन्दु
0
Shares

राजविराज : सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । 

बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ । पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीसँगै गएका यादव ढिस्कोमा पुरिएर बेपत्ता भएका थिए । 

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यका लागि घटनास्थलमा पुगेको थियो । 

त्यस्तै, सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, गोदावरीबाट थप सुरक्षाकर्मी उद्धारका लागि मगाइएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । 

यस्तै, खाँडो नदीमा आएको बाढीले राजविराज–१० स्थित बिरोल र राजविराज–१५ को देउरीभरुवा गाउँमा पनि कटान गरेको छ । सो नदीको पानीको बहावले गाउँमा पानी पस्दा सप्तरीको दक्षिणी र पूर्वी भेगका राजविराज, बिरोल, डुमरी शिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनिया, तिलाठी लगायत स्थानका करिब ४०० घर डुबानमा परेका छन् । रासस 

Logo