प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक गर्नुपर्छ : कमल थापा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक गर्नुपर्छ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २६ साउन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटकमा हुनुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले माघ ७ गतेभित्र दुवै निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले एकै चरणमा गर्नुपर्ने बताएका हुन् । “पुस माघमा मौसमका कारण निर्वाचन सम्भव छैन त्यसैले मंसिरमा दुवै तहको निर्वाचन गर्नु उपयुक्त हुन्छ”, अध्यक्ष थापाले भने । 

उनले मधेसी दलको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै सरकारले राप्रपालाई मन्त्री दिने आश्वासन देखाएर पार्टी विभाजन गरेको आरोप लगाए । “संविधान संशोधन विधेयक संसद्मा पास हुने अवस्था भए पनि सरकारले यसमा पहल गरेन”, उनले भने । 

अध्यक्ष थापाले पशुपतिशम्शेर राणाले नक्कली हस्ताक्षरको प्रयोग गरेर पार्टी विभाजन गरेको आरोप लगाए । राप्रपाको विधानमा १६५ केन्द्रीय सदस्य रहने प्रावधान रहेको र पार्टी विभाजनका लागि ६७ केन्द्रीय सदस्य चाहिनेमा केही केन्द्रीय सदस्यको नक्कली हस्ताक्षर गरेर ६४ जना पुर्याएको उनको भनाइ छ । 

उनले पार्टी विभाजनले लाखौँ राष्ट्रवादी जनतालाई चोट पुगेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । 

Logo