आफ्ना माग पूरा गर्न राजपाले दियो सरकारलाई १ साताको अल्टिमेटम

आफ्ना माग पूरा गर्न राजपाले दियो सरकारलाई १ साताको अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । ‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’ 

चुनावमा जाने/नजाने भन्ने विषयमा पार्टी पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिमा व्यापक छलफल भएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ । केन्द्रीय कार्यसमिति, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षलगायत १५ सयभन्दा बढीको सहभागितामा राजधानीमा तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार सम्पन्न गर्दै राजपाले निर्वाचनबारे पुरानै अडान कायम राख्ने निर्णय लिएको हो । 

बैठकमा राजपा नेता महेन्द्र यादव, शरदसिंह भण्डारीसहितका नेताले भने संगठन र कार्यकर्ताको सुरक्षाका लागि पनि चुनावलाई प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिमा बहुमत सदस्यहरू यथास्थितिमै चुनावमा जान नहुने पक्षमा अडिग देखिएपछि राजपाले पुरानै अडानलाई निरन्तरता दिएको हो । नेता सुमनका अनुसार बैठकले राजनीतिक प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय लिएको छ ।

पार्टी विधान, घोषणापत्र र नियमावलीबारे बैठकबाट आएका सुझाव समेटेर अन्तिम रूप दिन बैठकले समिति बनाउने निर्णय लिएको छ । समितिको घोषणा भने बैठकमा हुन सकेन । बैठकमा नेता महन्थ ठाकुरले यथास्थिति परिवर्तन गर्ने विषय सरकारसँग रहेको भन्दै अबको केही दिनमा सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, आन्दोलनका घाइतेलाई उपचार, गिरफ्तारी भएकाहरूलाई रिहा गर्नेलगायत माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएका थिए । उनले त्यस्तो आन्दोलन चुनाव बिथोल्ने गरी हुने पनि बताएका थिए ।

Logo