सर्वोच्चको निर्णय ढिला हुँदा पराजित भएको देवी ज्ञवालीको भनाइ

सर्वोच्चको निर्णय ढिला हुँदा पराजित भएको देवी ज्ञवालीको भनाइ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।

नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वोच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताएका छन् । एमाले चितवनले  आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नु परेको बताए ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानका लागि निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । पहिलो चरणको निर्वाचन वैशाख ३१ गते भएकोमा जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो । त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । यो अवधिमा राज्य सत्ताको चरम दुरुपयोग भएको बताउनुहुँदै ज्ञवालीले भन्नुभयो “यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँ रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।” तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने उनले बताए । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उनको आरोप छ ।

पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनःनिर्वाचनको समयमा सत्ताको आडमा नक्कली अनुमतिपत्र बनाएर सवारी साधन प्रयोग गरिएको बताए । उनले एमालेले भरतपुर महानगरमा १४७ पदमध्ये ७० पदमा विजयी भई पहिलो पार्टी भएको भन्दै नेकपा एमाले जनताप्रति प्रतिबद्ध र जिम्मेवार पार्टी भएकाले यसका प्रतिनिधि भरतपुर महानगरको विकासमा सक्रिय भएर लाग्ने बताए ।
एमालेबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले आजै शपथ ग्रहण गर्ने पनि उनले जानकारी दिए ।

 

Logo