यसकारण छोरीलाई जिताउन चाहन्थे प्रचण्ड

यसकारण छोरीलाई जिताउन चाहन्थे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–पुत्री रेणु दाहाल विजयी भएकी छन् । नेपाली कांग्रेससँगको चुनावी तालमेलले माओवादी, प्रचण्ड र रेणुलाई यस्तो सुखद नतिजा दिएको हो ।

भरतपुरमा माओवादी केन्द्रसँग नेपाली कांग्रेसले चुनावी तालमेल गरेपछि स्थानीय कांग्रेसमा चरम असंतुष्टि देखिएको थियो । माओवादीका प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा नै चुनाव प्रचारका लागि सक्रियताका साथ मैदानमा उत्रिएपछि भने बाहिरी असंतुष्टि मत्थर हुँदै गएको थियो । तर, खाँटी कांग्रेस कार्यकर्ताले भोट दिने बेलामा के गर्लान् भन्ने आशंका चाहिँ खासगरी माओवादी नेतृत्वमा थियो नै ।

बल प्रयोग, अदालत, पक्ष–विपक्ष, स्क्यान्डल आदि पार गरेर भरतपुर चुनावले एउटा निकास पाएको छ । एकथरि मानिसहरू भन्छन्– “अन्तत: प्रचण्डले जिते ।” किनभने यति धेरै लफडापछि पनि हारेको भए राम्रो हुन्न थियो । अर्काथरि मानिसहरू भन्छन्– “प्रचण्डले जितेर पनि हारे । तर निश्चित भएको कुरा चाहिँ के हो भने भरतपुर चुनाव जितेर अब प्रचण्ड स्थायी रूपमा चितवन पसेका छन् । भनिन्छ, प्रचण्डको मूल उद्देश्य नै यही थियो ।

१. आफ्नो विश्वासिलो आधारभूमि तयार गर्न
दोस्रो संविधान सभाको चुनावमा काठमाडौंबाट चुनाव हारेपछि र सिरहाबाट बालबाल बाँचेपछि प्रचण्डलाई भविष्यको चुनाव सम्झेर मनमा ढ्यांग्रो बज्नु स्वभाविक नै थियो । उनी आउँदो चुनावमा यी दुवै क्षेत्र काम नलाग्ने निष्कर्षमा पुगिसकेका थिए । यसका लागि उनी नयाँ चुनावी क्षेत्र तयार गर्ने पक्षमा थिए, जो स्थानीय निर्वाचनले जुराइदिएको छ । अब चितवनको कुनै पनि क्षेत्रमा उनी चुनाव लड्न सक्छन् । किन पनि भने अब भरतपुर महानगरपालिकाको नेतृत्व, सोच र बजेट सबै माओवादी केन्द्रको पोल्टामा आइपुगेको छ ।

२. पुत्री–मोह
प्रचण्डमा पुत्र–पुत्री मोह निकै नै रहेको पाइन्छ । यसअघि गहिरोगरी पुत्र–मोह प्रदर्शन गरेका छन् उनले । छोरा प्रकाशलाई सचिवालयमा नराख्ने निर्णय नै गरेको थियो, यस पार्टीको विगत बैठकले । तर प्रचण्डले पार्टीको यस्तो निर्देशन कहिल्यै मानेनन् । उनले सधैं प्रकाशलाई किचन क्याबिनेटको शक्तिशाली सदस्य बनाएर नै राखिरहेका छन् ।

छोरी रेणुलाई भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसको साथ लिन उनले घोषित वा अघोषित रूपमा धेरै कुर्बानी गरेका छन् । केही महानगर र नगरहरूमा कांग्रेसलाई सजिलो हुने काम गरिदिएका छन् । सत्ता समीकरणमा समेत उनी सजिला भइदिएका छन् ।

 

Logo