भरतपुर–१९ : मतदान ७५ प्रतिशत , पहिलेको भन्दा २७ मत कम खस्यो

भरतपुर–१९ : मतदान ७५ प्रतिशत , पहिलेको भन्दा २७ मत कम खस्यो

केन्द्रबिन्दु
0
Shares

चितवन, २० साउन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । 

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ । 

यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । सो वडामा तीन हजार ७९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो । दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाईँको चटारो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध तथा दुई पटक मतदान गर्नुपर्दा मतदाता रुष्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ । 

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुई वटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइस वटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गर्नुभएको थियो । महानगर–२० को तीन हजार ३०२ मतगणना गर्न बाँकी छ । 

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो । यसअघि मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाई प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ । रासस 

Logo