यसरी कुर्लिए सांसदहरू जग्गा खरिदमा आयल निगमले गरेको भ्रष्टाचारबारे

यसरी कुर्लिए सांसदहरू जग्गा खरिदमा आयल निगमले गरेको भ्रष्टाचारबारे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १८ साउन ।

सांसदहरूले बिचौलियामार्फत् जग्गा खरिद गरेर आयल निगमले ठूलो भ्रष्टाचार गर्दा समेत सरकार मौन बसेकोमा आपत्ति जनाएका छन ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै सांसदहरूले जग्गा खरिदको नाममा आयल निगमले ऐन, कानुनको समेत बेवास्ता गरेर खरिद प्रक्रिया अघि बढाउनुको कारणको खोजी गर्न पनि माग गरेका छन ।

समितिमा सदस्य धनराज गुरुङले आयल निगमले जग्गा खरिदमा नांगो ढंगले भ्रष्टाचार गर्दा समेत सरकारले कार्वाहीको दायरामा नल्याएकोमा आपत्ति जनाउनु भयो । उहाँले विचौलिया राखेर जग्गा खरिद गर्ने अधिकार आयल निगमलाई कसले दियो भनि प्रश्न गर्नु भयो ।

सांसद गुरुङले प्रतिकट्ठा ३ लाख पर्ने जग्गालाई करिव १० लाखमा खरिद गर्नुको कारण स्पष्ट पार्न पनि आयल निगमका पदाधिकारीहरुसँग माग गर्नुभयो । उहाँले संसदको आँखामा छारो हाल्ने काम नगर्न आयल निगमका पदाधिकारीहरूलाई चेतावनी दिनुभयो ।

सर्लाहीकी सांसद डिम्पलकुमारी झाले आयल निगमले जग्गा खरिदमा ठूलो घोटाला गरेको आरोप लगाउनु भयो । उहाँले सर्लाहीमा प्रतिकट्ठा ३ लाख पनि नपर्ने जग्गालाई करिव १० लाख मूल्य परेको भनेर आयल नियमले झुटो बयान दिएको पनि उल्लेख गर्नु भयो ।

झापाकी सांसद उषा गुरुङले आयल निगमले जग्गा खरिदमा भ्रष्टाचार गरेको उल्लेख गर्दै तत्काल अनुसन्धान गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्नु भयो । उहाँले झापामा प्रतिकटठा १ लाखभन्दा बढि नपर्ने जग्गालाई १३ लाख ५१ हजार रुपैयाँ मूल्य देखाएर ठूलो मात्रामा घोटाला गरिएको पनि उल्लेख गर्नु भयो ।

सांसदहरूले आयल निगमले जग्गा प्राप्ति ऐनलाई बेवास्ता गर्दै जग्गा खरिद गर्नुको कारण खोजी गर्न पनि सरकारसँग माग गरेका छन । उनीहरूले जग्गा खरिद बिचौलियाहरुमार्फत गरेर निगमले ठूलो आर्थिक हिनामिना गरेको दावी पनि गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गरेको थियो । सो खरिदमा ठूलो घोटाला भएको पाइएपछि संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रियालाई अघि बढाएका हुन् ।

Logo