भरतपुरमा पुनः मतदान – साउन २० गते

भरतपुरमा पुनः मतदान – साउन २० गते

केन्द्रबिन्दु
0
Shares

रत्ननगर (चितवन), १७ साउन । मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकाको निर्वाचन साउन २० मा हुने भएको छ । २० गते चुनाव तोकिएपछि भोलीदेखि नै चुनाव प्रचार–प्रसार बन्द हुने भएको छ ।

नेपाली काँग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र) कातर्फबाट भरतपुर महानगरको प्रमुखका उम्मेदवार रेणु दाहाल आइतबार बिहानै भरतपुर–१९ पुग्नुभयो । दाहालले सर्वाेच्च अदालतको निर्णय स्वागतयोग्य भएको चर्चा गर्दै भरतपुर–१९ मा मतदाता समक्ष भेटघाटमा लागेको बताउनुभयो ।

एमालेका वडास्तरका नेता तथा कार्यकर्ता आइतबारबाटै भरतपुर–१९ मा सक्रिय भएको सो दलका महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

महानगरको प्रमुखका दुई उम्मेदवार ज्ञवाली र दाहालको कडा प्रतिष्पर्धाका बीचमा मतगणना चल्दै गर्दा जेठ १४ गते राति ११ः४५ बजे यहाँ ९० मतपत्र च्यातिएको थियो ।

निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेपछि भरतपुर महानगर–१९ मा एमालेबाट वडादस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

मुद्दा हाल्ने विक अदालतबाट जस्तो निर्णय भएपनि स्वीकार गर्नुपर्ने भएकाले अब चुनाव मै जाने बताउनुभयो ।

एमालेका महानगर प्रमुखका उम्मेदवार ज्ञवालीले अदालतको निर्णय स्विकारयोग्य नलागेपनि अब चुनावमा गएर जनताको मन जित्ने प्रतिक्रिया दिनुभयो ।

मतको अवस्था यस्तो थियो

सत्ताइ वटा वडाको मतगणना सकेर २८औँ वडाको रुपमा भरतपुर महानगरको वडा नम्बर १९ को मतगणना हुँदै थियो । उक्त वडामा दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मत गनेर सकिएको थियो ।

जसमा एमाले प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६४१ मत ल्याउनुभएको थियो भने काँग्रेस माओवादी केन्द्र गठबन्धनका प्रमुखका उम्मेदवार रेणु दाहालको ४० हजार ९०८ मत थियो । मतान्तर ७३३ थियो । उक्त १९ नम्बर वडामा मात्रै एक हजार ८०९ मत गन्दा रेणु दाहालको ५१ मत बढी थियो ।

एक हजार ८८ मत गन्न बाँकी थियो । अनि भरतपुर–२० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो । रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवशमा परिणाम घोषणा गर्ने तयारी थियो । एकाएक मतपत्र च्यातिएपछि मतगणना रोकियो ।

त्यसपछि १९वडाका सबै मत खरेजीको निर्णय निर्वाचन आयोगले गरेपछि अब दुई उम्मेदवारको आधिकारिक मत भनेको भरतपुरका २७ वडाको मात्रै हो । जसअनुसार ज्ञवालीको ४० हजार ९८० र दाहालको ४० हजार १९६ मत छ ।

उनीहरुबीचको आधिकारिक मतान्तर ७८४ छ । भरतपुर महानगरको वडा नम्बर १९ मा तीन हजार ७९७ मतदाता छन् । उनीहरुबीच नै मतदान हुन्छ । यहाँ किरणगञ्ज, शारदानगर र गुञ्जानगरमा तीन मतदान स्थलमा छ वटा मतदान केन्द्र तोकिएको छ । राससको सहयोगमा

Logo