पर्वत जिससमा एमालेको पूरै समूह विजयी

पर्वत जिससमा एमालेको पूरै समूह विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १७ साउन । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका उम्मेदवार मनोहर बी पौडेल विजयी भएका छन् ।

फलेवास (पर्वत) बाट प्राप्त समाचार अनुसार, आज भएको निर्वाचनमा पौडेल आठ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले छ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा एमालेकै यामकुमारी राना विजयी भएकी छन् । उनले पनि आठ मत प्राप्त गरेकी हुन् । उपप्रमुखकी काँग्रेस उम्मेदवार लालकुमारी सिकेले छ मत प्राप्त गरिन् ।

समन्वय समितिका अन्य सात सदस्य पद पनि एमालेले नै जितेको छ । विजयी सदस्यमा ज्ञानबहादुर भण्डारी, विष्णुराम विक, कविता विक, नन्दलाल सुवेदी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र शर्मिला नेपाली छन् ।

समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । पर्वतका सात स्थानीय तहमध्ये चारमा एमाले विजयी भएको थियो भने तीनमा नेपाली काँग्रेस विजयी भएको थियो । समन्वय समितिको चुनावमा पनि एमाले उम्मेदवारको पक्षमा आठ र काँग्रेस उम्मेदवारको पक्षमा छ मत खसेको हो ।

विजयी भएका उम्मेदवारको सपथ तथा पदभार ग्रहणसमेत आजै सम्पन्न हुने भएको छ । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको राससले उल्लेख गरेको छ ।

Logo