पुनः मतदानको अदालती फैसला दुःखद : एमाले

पुनः मतदानको अदालती फैसला दुःखद : एमाले

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १६ साउन ।

नेकपा (एमाले) ले भरतपुर महानगरपालिकामा मतगणना भइरहेकै समय मतपत्र च्यातिएको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आइतबार सुनाएको फैसलालाई दुःखद रहेको संज्ञा दिँदै यसबाट गलत नजिर बस्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनकै निवास भक्तपुर बालकोटमा आज बसेको पार्टी स्थायी कमिटीको बैठकले उक्त प्रस्तावका साथै केही जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको नामको निर्णय पनि गरेको छ ।

एमाले बैठकले पारित गरेको प्रस्तावको सम्पूर्ण यस प्रकार छ : ‘गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ १४ गते राती माओवादी केन्द्रका प्रतिनिधिहरुले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरूलाई आक्रोशित तुल्याएको तथ्य स्मरणीय छ ।

यसै सन्दर्भमा हिजो सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ । यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ । यसलाई गम्भीर रूपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।’

यसैगरी एमाले बैठकले ‘जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निम्न जिल्लामा निम्नअनुसार निर्णय गरेको छ : दैलेख : प्रमुख पे्रमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह, ताप्लेजुङ : प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, सिन्धुपाल्चोक : प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, धादिङ ः प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दा दराम नेपाली, काठमाडौं : प्रमुख शिव वैद्य, उपप्रमुख सरिता दाहाल, सिन्धुली : उपप्रमुख शंकर बर्मा ।’

Logo