सम्भावित चीन–युद्धको त्रास देखाएर नेपाल छिर्‍‍यो भारतीय अर्धसैनिक दस्ता

सम्भावित चीन–युद्धको त्रास देखाएर नेपाल छिर्‍‍यो भारतीय अर्धसैनिक दस्ता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।

भारत र चीनबीच गत जुनदेखि सुरु भएको ‘दोक्लाम विवाद’ले युद्धको रूप लिन्छ या लिँदैन भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन् । सन् १९६२ मा यी दुई देशबीच सीमा विवादबारे युद्ध भएको थियो । त्यस युद्धका कारण यी दुई देशका नागरिकबीच अहिलेसम्म पनि लभ–हेटको सम्बन्ध छ ।

अहिले भारत विश्वको उदाउँदो अर्थतन्त्र मानिन्छ । चीनले गरेको प्रगति त पश्चिमा विश्व र अमेरिकाकै लागि डाहलाग्दो छ । यी दुबै देशलाई ३५ सय किलोमिटर लामो सीमारेखाले छुट्याउँछ । त्यसैले सिमानामा प्रायः विवाद चलिरहन्छ ।

यसपटक भारत–भूटान र चीनबीचको सीमा नाकामा पर्ने दोक्लाम क्षेत्र विवादका कारण गर्माएको छ । विवादको बाछिटा दुई देशसँग सीमा जोडिएको नेपालमा परेको छ । विवाद चर्कदैँ जाँदा नेपालमा पनि यसको प्रभाव पर्दै जाने देखिन्छ ।

नेपालमा के भयो ?

भारतले सम्भावित युद्ध हुनसक्ने कारण देखाउँदै नेपालको सीमा नाकामा कडाइ गरेको छ । यही कारण देखाएर भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाल छिरेको छ जबकि अन्तर्राष्ट्रिय कान्नअनुसार दसगजा क्षेत्रमा प्रवेश गरेर कुनै पनि देशका सुरक्षाकर्मीले चेकजाँच गर्न पाउँदैनन् ।

खुला सिमानाका कारण चिनियाँहरू नेपाल हुँदै भारत छिर्न सक्ने बहाना बनाएर भारतीय सीमा सुरक्षा बल नेपाल छिरेको हो । परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

तर सीमा क्षेत्रमा पर्ने रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले एसएसबीको कदम गलत भएको प्रतिक्रिया दिएका छन् । ‘भारतीय सुरक्षाकर्मीहरू नेपाली भूमिमा आएर चेकजाँच गर्नु गलत हो ।

भारतीय सुरक्षाकर्मीसँग छलफल गरेर समाधान गर्न आग्रह गरिसकेको छु,’ उनले भनेका छन् । उनले नेपाल प्रहरीसँग कुराकानीका लागि सीमा क्षेत्रमा आउने भए पनि चेकजाँच गर्ने अनुमति नहुने बताए ।

भारतीय सुरक्षाकर्मीले रुपन्देहीको सुनौलीसँगै अन्य खुला सीमामा समेत निगरानी बढाएका छन् । कर्कहवा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । रुपन्देही मात्रै नभई कपिलवस्तु र नवलपरासीसहित सीमा जोडिएका देशभरका क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

खुला सिमानाका कारण सीमाक्षेत्रका धेरै नेपाली भारतसँग निर्भर छन् । तर भारतले सीमाक्षेत्रमा चेकजाँच कडा पारेपछि अहिले समस्या सिर्जना भएको छ । सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेकाले लोड गाडीहरू समेत भित्रिएका छैनन् ।

भारतबाट नेपालतर्फ सामान लिएर आउने गाडीसमेत जाममा फँसेका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार, सामान्य अवस्थाको तुलनामा हाल दैनिक करिब १ सय मालवाहक गाडीको आगमन घटेको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी गोपाल भट्टराईले भारतीय पक्षबाट सुनौली नाकामा मात्र हुन थालेको कडा चेकजाँचले आयात निर्यात प्रक्रियामा असर पार्न थालेको बताए ।

यसरी सुरु भयो विवाद

चीन र भूटानको सिमानामा रहेको २६९ वर्गकिलोमिटर दोक्लम भूभागलाई दुबै देशले आफ्नो दाबी गर्दै आएका छन् । चीनले यस क्षेत्रलाई आफ्नो तिब्बती डोङलांग क्षेत्रको हिस्सा मान्छ । भूटानले यो क्षेत्र आफ्नो दोक ला क्षेत्रको भूभाग रहेको बताउँछ ।

भूटानको पश्चिम उत्तर सिमानामा रहेको यो क्षेत्र चीनको नियन्त्रणमा छ । यस क्षेत्रमा सडक निर्माण गर्न चीनले गत जुन १६ मा निर्माण सामग्री पठाएको थियो । त्यसपछि चिनियाँ सैनिकहरू सडक निर्माणको बहानामा यस क्षेत्रमा छिरे ।

भूटानले कडा विरोध गर्दै चिनियाँ सैनिकलाई यस क्षेत्रबाट पछि हट्न भन्यो । उसले भारतसँग सैन्य सहयोग माग्यो । जब भारतीय सेना यस क्षेत्रमा आयो त्यसपछि विवाद सुरु भयो । भारतीय सेनाले यहाँ बंकर खनेको थियो । चीनले बुल्डोजर लगाएर बंकर भत्काइदिएपछि विवाद अझै बढ्यो ।

विवादकै कारण गत महिना चीनले कैलाश मानसरोवर दर्शनका लागि आउने भारतीय भक्तजनहरूलाई प्रवेश निषेध गरेको थियो जसका कारण धेरै भक्तजन बीच बाटोबाटै फर्कन बाध्य भए ।

चिन्ता आ–आफ्नै

दोक्लमभन्दा ३० किलोमिटर तल चुम्बी उपत्यकामा भारतीय भूभाग पर्छ । भारतको सिक्किम राज्यस्थित यो इलाका चीन र भूटानसहितको त्रिदेशीय सिमाना हो ।
चीनलाई दोक्लममा भारतीय सेना तैनाथ हुँदाको चिन्ता एकातर्फ छ भने अर्कोतर्फ सिक्किमबाट भारतीय सेना त्रिदेशीय सिमानामा पसेको विषयमा चिन्ता छ ।

यता यसरी सिमानामा आफ्ना सैनिक तैनाथ नगर्ने हो भने चीनले भूभाग मिच्दै अघि बढ्छ भन्ने भय भारत सरकारमा छ । त्यसैले अहिले दुबै देश सीमा रक्षामा जुटेका छन् । १ सय मिटरको दूरीमा दुवै देशका सैनिक तयारी अवस्थामा छन् ।

मिडियाबीच प्रोक्सी वार

युद्ध हुन्छ कि भन्ने चिन्ता भारत मात्रै नभएर चीनलाई समेत छ । तर दुवै देशका सञ्चार–माध्यमको समाचार हेर्दा, पढ्दा र सुन्दा युद्ध सुरु भइसके जस्तो लाग्छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै भूटान–चीन सिमानामा सेना तैनाथ गर्ने भारतीय कदमको कडा भत्सर्ना गरेको छ । तर चीनको विरोध गरिरहेको भूटानप्रति भने ग्लोबल टाइम्सको सम्पादकीय नरम छ ।

यस सम्पादकीयमा भारतले भूटानको स्वतन्त्रतामाथि हदैसम्म हस्तक्षेप गरेका कारण चीनले भूटानको स्वतन्त्रता रक्षाका लागि सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख छ ।
ग्लोबल टाइम्सले लेख्ने सम्पादकीय र प्रकाशित गर्ने लेखहरूले चिनियाँ नीतिको प्रतिनिधित्व गर्ने बाँकी विश्वको बुझाइ छ ।

ग्लोबल टाइम्सले पछिल्लो सम्पादकीयमार्फत अमेरिकाले भारत र चीनबीचको विवादमा खेल्न चाहिरहेको आरोप लगाएको छ । ‘अमेरिकाले साउथ चाइना विवादमा जस्तै गरी भारत–चीन विवादलाई भड्काएर आफ्नो रणनीतिक फाइदा लिन खोजेको छ,’ सम्पादकीयमा भनिएको छ ।

भारतीय सञ्चार–माध्यमले पनि दैनिकजसो चीन विरोधी समाचार प्रसारण गर्ने गरेका छन् । केही टेलिभिजनले टिआरपीका लागि त पुराना फाइल फुटेज देखाएर सीमा क्षेत्रमा भारत र चीनका सैनिकबीच युद्ध भएको भन्दै गलत भ्रम समेत छरेका छन् ।

भारत र चीनबीच युद्ध हुँदा चीनलाई कति घाटा हुन्छ भन्नेसम्मका विश्लेषण भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् ।

भारतीय सुरक्षा सल्लाहकार चीनमा
बिहीबारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको ब्रिक्स राष्ट्रहरूको बैठकमा भारतबाट सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी हुँदैछन् । उनी बुधबार बेइजिङ पुगेका हुन् । बैठकपछि उनले शुक्रबार चिनियाँ प्रधानमन्त्री सी जिनपिङलाई भेट्ने कार्यक्रम छ ।

ब्रिक्स भारत र चीनसहित रुस, ब्राजिल र दक्षिण अफ्रिकाजस्ता उदाउँदा शक्ति राष्ट्रहरूको संगठन हो । त्यसैले भारतीय सुरक्षा सल्लाहकारले यस बैठकका दौरान अन्य देशका प्रमुख अधिकारीहरूसँग समेत भेट गर्नेछन् । त्यस अवसरमा दुई देशबीचको समस्या समाधानका लागि अन्य राष्ट्रले समेत पहल गर्ने अपेक्षा गरिएको छ ।

चीन र भारतबीच देखिएको चिसो सम्बन्ध र विवाद सल्ट्याउनका लागि यो भेटलाई एउटा अवसरका रूपमा लिइएको छ । यसअघि बुधबार मात्रै चीनले भारतीय सेना दोक्लमबाट नहटेसम्म वार्ताको कुनै सम्भावना नरहेको बताए थियो ।

चीनले भारतलाई सेना हटाउन पटक–पटक चेतावनी दिँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कंगले वार्ताका लागि यही सर्त दोहोर्याएका छन् । तर सिमानामा चीनले किन तीन हजारभन्दा धेरै सैनिक परिचालन गर्यो ? यस सम्बन्धमा उनले मुख खोलेका छैनन् । (एजेन्सीको सहयोगमा)

Logo