५० औं दिनमा देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै, यी हुन् नयाँ मन्त्री

५० औं दिनमा देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै, यी हुन् नयाँ मन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११ साउन । 

संसदबाट प्रधानमन्त्री चयन भएको ५१ औं दिनमा मात्रै शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल बिस्तार गर्ने भएका छन्। गत जेठ २३ गते उनी संसदबाट देशको ३९ औं प्रधानमन्त्री निर्वाचित भएका थिए।

उनले जिम्मेवारी सम्हालेको भने ५० दिन भयो। जेठ २४ गते कांग्रेसबाट ३, माओवादीबाट ३ र फोरम लोकतान्त्रिबाट १ गरी उनले आफ्नो नेतृत्वमा ८ सदस्यीय सानो मन्त्रीमण्डल गठन गरेका थिए।

त्यसपछि ५० दिनको अवधिमा रिक्त रहेका २३ मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैंले सम्हाले । आफ्नै पार्टीभित्रको समस्याका कारण देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न सकेका थिएनन्। दोस्रो चरणको स्थानीय चुनावको चटोरा मन्त्रिपरिषद् गठनमा ढिलाई हुनुको अर्को कारण थियो ।

चुनाव लगत्तै मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा रहेका देउवा थिए । तर पार्टीभित्रै भागवण्डाको विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरुको निकालेको किचलोका कारण मन्त्रिपरिषद् गठनमा ढिलाई भयो ।

कांग्रेसमा मंगलबार रातिसम्म को–को मन्त्री बन्ने भन्ने विषयमा विवाद थियो। विवाद सल्टाएपछि देउवाले आज मन्त्रिपरिषद् बिस्तार गर्दैछन् । प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीका अनुसार आज दिउँसोसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ ।

मंगलबार नै मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

को–को बन्दैछन् मन्त्री ?

अहिलेसम्म आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम कांग्रेसले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन् । कांग्रेसबाट रामकृष्ण यादव, यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी, भीमसेनदास प्रधान, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, अर्जुन जोशी र अम्बिका बस्नेत मन्त्री बन्ने जानकारी पार्टीका एक नेताले दिए ।

उनले मीन विश्वकर्मा, अर्जुन जोशी र वीरबहादुर बलायरको नाम हेरफेर हुनसक्ने सम्भावना उत्तिकै रहेको बताए । अहिले कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रममन्त्री छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सीता नेपालीको चर्चा छ । सीता नेपालीको सट्टा आशा कोइरालालाई मन्त्री बनाउने चर्चा पनि माओवादीभित्र चलेको छ ।

९ मन्त्रालय पाएको माओवादीबाट हाल उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा छन् भने गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र शहरीविकास मन्त्री प्रभु साह छन् ।
यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देव र गोपाल दहितलाई सरकारमा पठाउने तयारी गरेको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा पनि देव र दहित मन्त्री थिए । देउवा नेतृत्वको सरकारमा पनि निरन्तरता पाउने आश्वासन पाएका उनीहरुले अझैसम्म मन्त्री क्वाटर छाडेका छैनन् । हाल सरकारमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संसदीय मामिला तथा स्थानीय विकास मन्त्री छन् । यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

Logo