भक्तपुर, १० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन् ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना यही अबस्थामा निर्वाचनमा सहभागी नहुने बताए ।
उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाई मत पुर्याउन लागे तापनि एमाले विगतदेखि नै आफूहरुको मागको विपक्षीमा रहेकोले संविधान संशोधनले पूर्णता पाउन नसकेको बताए । आफूहरुका मागबारे सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन नसकेको आरोप लगाउँदै समस्या झनै बल्झँदै गएको जिकिर गरे ।
ठाकुरले भने, “सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या सुल्झिनुभन्दा झनै बल्झँदै गयो ।”
तराई आन्दोलनमा घाइतेको उपचार र कारागारमा भएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने तर्फ सरकारले ध्यान नदिएको आरोप पनि उनले लगाए ।
प्रतिक्रिया