प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् । 

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने  बताए । 

स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भने– “प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।” 

निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले काँग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँगे्रसको जिम्मेवारी रहेको विचार व्यक्त गरे  

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गर्नुभएको थियो । रु २५ हजारसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गरेका थिए। 

कार्यक्रममा समाजका अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष एवं राससका अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष होमनाथ दाहाल, नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसी, समाजका सचिव डा वासुदेव भण्डारीलगायतले समाजले गरेका काम र यसको महत्वका बारेमा धारणा राखेका थिए । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सम्झनामा गिरिजाबाबु विशेशांक ‘चिन्तन’ विमोचन गरिएको थियो । रासस

Logo