षडयन्त्रकै कारण स्थानीय तहको निर्वाचनमा हार

षडयन्त्रकै कारण स्थानीय तहको निर्वाचनमा हार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ४ साउन, काठमाडौं ।

स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्दै भावी रणनीति तय गर्ने मुख्य एजेण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्य समितिको बैठक बुधबारबाट सुरु भएको छ ।

स्थानीय तह दुई चरणको निर्वाचनमा लज्जाजनक हार व्यहोरेपछि त्यसको समीक्षा गर्दै भावी रणनीति तय गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । बैठकमा पार्टी सरकारमा सहभागी हुने, नहुने विषयमा पनि ठोस धारणा तय हुनेछ ।

बैठकको उद्घाटन गर्दै पार्टी अध्यक्ष कमल थापाले स्थानीय तहको दुई चरणको निर्वाचन परिणामले पार्टीलाई ठूलो पीडा दिएको टिप्पणी गर्नु भयो । उहाँले निर्वाचन परिणामले पार्टी एकतामाथिनै आँच ल्याउने अवस्था आएको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष थापाले पार्टी एकीकरणपछि पार्टी नेता, कार्यकर्तामा आएको उत्साहलाई पनि निर्वाचन परिणामले निराशामा बदलिदिएको र कार्यकर्ताहरु पार्टीबाटै पलायन हुने अवस्था आउनु दुःखद भएको पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष थापाले आफ्नो पार्टीलाई समाप्त पार्न राष्ट्रिय/अन्तराष्ट्रिय शक्ति केन्द्रहरुनै लागि परेको आरोप पनि लगाउनु भयो । उहाँले राष्ट्रवादी र हिन्दुत्व पार्टीको मूल एजेन्डा भएको उल्लेख गर्दै त्यसलाई समाप्त पार्ने षडयन्त्रकै कारण स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको दावी पनि गर्नु भयो ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीले आगामी बाटो तय गर्ने बताइएको छ । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नुको कारणबारे स्थलगत रिर्पोटिङ गर्नेछन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपालगंज उपमहानगरपालिकाको मेयरमा भने शानदार ढंगले विजय हासिक गरेको थियो ।

 

Logo