संशोधन प्रस्ताव तराईका लागि विष सरह : केपी ओली

संशोधन प्रस्ताव तराईका लागि विष सरह : केपी ओली

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तराई÷मधेशका लागि विष सरह भएको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले तराई/मधेशका जनताका लागि विष सरह रहेकाले आफ्नो पार्टीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिएको पनि स्पष्ट पार्नु भयो । विहिबार काठमाडौंमा तराई–मधेशका बुद्धिजीविसँग अन्तरक्रिया गर्दै उहाँले सरकारले विषलाई औषधि भनेर तराई/मधेशका जनतालाई थप पीडा दिने गरी संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसको विपक्षमा अडान लिनु परेको पनि स्मरण गराउनु भयो । अध्यक्ष ओलीले सरकारले एमालेलाई मधेश विरोधी भनेर भ्रम फिँजाएको उल्लेख गर्दै एमालेको नीति र कार्यक्रम मधेशविरोधी हो, होइन् खुटयाएर हेर्न पनि आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले पहाड र तराईबीच बलियो एकता कायम गर्न ‘एक मधेशः एक प्रदेश, एक मधेशः दुई प्रदेश’ जस्ता मागको विपक्षमा उभिनुपरेको प्रष्टिकरण पनि दिनु भयो । उहाँले पहाड र तराईबीच एकता, समझदारी, सदभाव, सहकार्य गरेर मात्रै मुलुकको राष्ट्रिय एकता र विकासको गतिलाई तीव्र बनाउन सकिन्छ भन्ने कुरामा एमाले दृढ रहेकोे पनि धारणा राख्नु भयो । अध्यक्ष ओलीले सुनकोशी नदी थुनेर तराई÷मधेशमा सिँचित हुन्छ भन्ने भ्रम नपाल्न पनि सबैमा आग्रह गर्नु भयो । उहाँले मधेशका जनताको हितका लागि आफू नेतृत्वको सरकारले सबैभन्दा बढि बजेटको व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष ओलीले मधेश र मधेशी जनताको विकास नहुनुमा मधेशवादी दलहरुनै बढि जिम्मेवार रहेको दावी समेत गर्नु भयो ।

 

Logo