ललितपुरका मेयरले भने – सरकारले पञ्चायतको झल्को दियो

ललितपुरका मेयरले भने – सरकारले पञ्चायतको झल्को दियो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् ।

संघीय संरचना अनुरुप सिंहदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहमा गएको भन्ने भनाई प्रचारवाजीमा मात्रै सिमिति भएको भन्दै उनीहरुले आफुहरुको अधिकारलाई सरकारले संकुचित गरेको आरोप लगाएका हुन् । नेपाल सरकार मन्त्रीपरिषद्बाट जारी गरिएको स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश तत्काल फिर्ता लिन पनि उनीहरुले चेतावनी दिएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको सुसासन तथा अनुगमन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पञ्चायत कालको झल्को दिने गरि सरकारले अझै पनि स्थानीय निकायलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगले आदेश दिएको भन्दै सो आदेश तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन लगत्तै स्थानीय सरकारको रुपमा निर्वाचित भएका पदाधिकारीले सामाजिक सुरक्षा भत्ता, पदाधिकारीको सेवा सुविधा लगायतमा प्रतिष्पर्धात्मक निर्णय गर्न थालेपछि सरकारले वित्तिय व्यवस्थापनका लागि भन्दै आवश्यक ऐन नबन्दा सम्मका लागि स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको थियो । स्थानीय सरकारबीच अस्वस्थ प्रतिष्पर्धा चलेर कोषको दुरुपयोग हुनबाट जोगाउनका लागि सरकारले कार्यादेश जारी गरेको बताएपनि यसलाई निर्वाचित पदाधिकारीले आफुमाथि लागेको केन्द्रको अंकुश भन्दै आएका छन् । बैठकमा काठमाण्डौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सिंहदरबारमा केन्द्रिकृत भएको अधिकार स्थानीय तहमा आएको महसुस गराउने गरी आफुहरु काम गर्न तयार हुंदा हुदै पनि आवश्यक ऐन कानुन नभएकाले अप्ठ्यारो भएको बताउनुभयो । साथै स्थानीय तह संचालनका लागि आवश्यक ऐन नियम र निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिईनुपर्ने तर्क गर्नुभयो ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानिय शासन संचालन सम्बन्धमा आवश्यक ऐन नियम नआउदा, काम कर्तव्य, अधिकार लगायतमा अन्यौल छाउनुको साथै निर्वाचित पदाधिकारीले पाउने बैठक भत्ता तथा पारिश्रमिकमा पनि स्पष्ट नहुदा समस्या भएको बताउनुभयो ।
समितिले नया संरचनामा स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शी ,जनउत्तरदायी र भ्रष्टाचार मुक्त कसरी बनाउन सकिन्न भन्ने सन्र्दभमा केन्द्रीत भएर छलफल स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई छलफलमा बोलाएको थियो ।

Logo