राजपा दल दर्ता तर चुनाव सहभागिता अनिश्चित

राजपा दल दर्ता तर चुनाव सहभागिता अनिश्चित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २३ असार, काठमाडौं ।

राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूले शुक्रबार अपरान्ह कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगी दल दर्ताका लागि निवेदन दिएका हुन । वैशाख ७ गते ६ वटा मधेस केन्द्रित दलहरू आबद्ध भई नयाँ दल बनेको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले दल दर्ताको प्रक्रिया अघि बढाएको हो । पार्टीको विधान र घोषणा पत्रसहित दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको पार्टीका नेता महन्त ठाकुरले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ता गरे पनि यथास्थितिमा निर्वाचनमा भने भाग लिन नसकिने स्पष्ट पारेको छ । नेता ठाकुरले यथास्थितिमा निर्वाचनमा भने प्रवेश गर्ने अवस्था नरहेको अडान दोहोर्याए । राष्ट्रिय जनता पार्टी, नेपालले आफूहरूको माग बमोजिम संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालले दल दर्ताका लागि केही दिन अघि नै तयारी गरेको थियो । तर, विधानको प्रस्तावनामा नै गजेन्द्रनारायण सिंहको नाम राख्नुपर्ने अडान पार्टी नेता अनिल झाले राखेपछि दल दर्ताको काममा ढिलाइ हुन गएको हो । निर्वाचन आयोगले निवेदन स्वीकृत गरेपछि राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुनेछ । दल दर्ताका लागि राजनीतिक दलहरूले पार्टीको विधान र घोषणा पत्रसहितको निवेदन निर्वाचन आयोगमा दिनुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएलगत्तै राजपा नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । र, अहिले राजपासहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा आगामी चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।
बैठकमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड छन् र राजपाका महन्थ ठाकुर लगायत शीर्ष नेता सहभागी छन् ।

 

 

Logo