एमालेमा विभाजनकारी प्रवृत्ति हावी भयोः भीम आचार्य

एमालेमा विभाजनकारी प्रवृत्ति हावी भयोः भीम आचार्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्।

माधव नेपाल समूहबाटै वार्ताकार नेताहरूका नियतमाथि प्रश्न उठाएर केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेका बेला आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साही नहुने बताएका हुन्।

आचार्यले एमाले एकताको पक्षमा १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो भनेका छन्। उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने बताएका छन्।

त्यस्तै, आचार्यले पार्टीभित्र विभाजनकारी प्रवृत्ति हावी भएकाले पार्टीमा संकटको अवस्था आएको बताएका छन्।

एक सातादेखि एमाले एकता प्रयास सुस्ताइरहेको अवस्थामा सचिव आचार्यले ८ बुँदे प्रस्ताव उल्लेख गर्दै आफूलाई एकताको पक्षमा उभ्याएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहमाथि पदलोलुप्ताको आरोप लगाउदै कटाक्ष गरेपछि वरिष्ठ नेता नेपाल पनि कडा प्रतिवादमा उत्रिएका छन्।

पार्टी शीर्ष नेताहरूको वाद–प्रतिवादले पार्टीमा संकट आउने आचार्यको ठम्याइ छ।
आचार्यले सामाजिक संजालमा प्रस्तुत गरेका ८ बुँदा यस प्रकार रहेका छन्: 

 (१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।

(२) अर्कोतिर, त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधि विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ।

(३)पक्ष २ वटा प्रवृत्ति एउटै विभाजन कारी नहोस् भन्ने आमकार्यकर्ताको अपेक्षा हो।

(४)दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्यूत तत्वहरू र राम्रो काम गरेर होइन, अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।

(५) नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदाय  नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षमा छन् तर उनीहरू पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासेजस्ता भएका छन्। विडम्बना, उनीहरू नेतृत्वविहीन पनि छन्।

(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्या हल गर्दै जान सकिन्छ। बिना जालझेल, छलछाम र हिच्किचाहट यसलाई लागू गर्नुपर्दछ।

(७) हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भैरहेका छन्। त्यसबाट एकता पक्षधर हतोत्साही हुनु हँुदैन।

(८) टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकता को रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश–विदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक अपिल गर्दछु।

Logo