महाधिवेशनपछि राप्रपा बलियाे भएर जनतामाझ जान्छः अध्यक्ष राणा

महाधिवेशनपछि राप्रपा बलियाे भएर जनतामाझ जान्छः अध्यक्ष राणा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले महाधिवेशनपछि खरो रुपमा प्रस्तुत भएर राप्रपा जनतामाझ स्थापित हुने दावी गरेका छन्।

‘एकत्रित राप्रपाले महाधिवेशनको हाँक पूरा गरेर, आगामी स्थानीय निर्वाचनमा राप्रपा के हो भनेर देखाएरै छाड्ने छ। जनताको चाहना, देशको परिस्थिति, अन्य दलहरुको अवस्था, यी सबै कारणबाट उभार ल्याउने पार्टी भनेको, अब राप्रपा मात्र हो,’ अध्यक्ष राणाले राप्रपाको सोमबार सम्पन्न कार्य सम्पादन समितिको वैठकलाई सम्बोधन गर्दै भने।

‘महाधिवेशनबाट प्राप्त उर्जाबाट खरो रुपमा प्रस्तुत भएर, एक ढिक्का राप्रपा जनतामाझ स्थापित हुने छ,’ राणाले जोड दिएर भने।

पार्टी एकतालाई लिएर कार्यकर्तामाझ चिन्ता देखिए पनि, महाधिवेशनमा हुने प्रतिष्पर्धाकै कारण राप्रपा नफुट्ने अध्यक्ष राणाले दावी गरे।

‘महाधिवेशनमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, प्रजातन्त्र भनेकै प्रतिष्पर्धा हो,’ उनले भने । ‘अध्यक्ष पदमा दुई, चार, पाँच, जति जना उठ्छन्, सबै उम्मेद्वारसँग चुनाव हारे पनि पार्टी नफुटाउने प्रतिवद्धता माग गर्नुहोस्। नभए कार्यकर्ता तहबाट उम्मेद्वारी स्वीकार नगर्नुहोस्। प्रजातान्त्रिक मान्यता अनुरुप हार, जित स्वीकार गरेपछि, पार्टी फुट्ने कुनै गुञ्जाइसै रहन्न।’

कम्युनिष्टहरु टुटफुटबाट गुज्रिरहेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष राणाले भने, ‘नेपाली कांग्रेसले बाटो खुला देखेको होला। तर, एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन। गठबन्धनका सबै दलका सबै सांसदलाई मन्त्री चाहिएको छ। त्यसैले हेर्दै जाउँ, नेपाली कांग्रेसको हालको हाई हाई, अबको चार, पाँच महिनामै फिक्का साबित हुनेछ।’

आइतबारबाट आरम्भ भएको राप्रपाको दुई दिने कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ। राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ।

Logo