ओलीले नै एकताको ढोका बन्द गरे, उनी सुध्रिए अर्को चुनावमा तालमेल गरौंलाः माधव नेपाल

ओलीले नै एकताको ढोका बन्द गरे, उनी सुध्रिए अर्को चुनावमा तालमेल गरौंलाः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले गर्दा पार्टी एकता सम्भव नभएको बताएका छन्।

उनले आज भोलि नै नयाँ दल दर्ता गर्ने संकेतसमेत गरेका छन्। अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए।

आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए। 

सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए।

नेता नेपालका अनुसार २८ फाुगनदेखि अहिलेसम्म भएका सबै निर्णय खारेज गर्ने तथा नयाँ निर्णयहरु नगर्ने र अहिलेसम्म भएका सहमतिहरु पालना गर्ने गरी थप सहमति गर्ने भुसालको प्रस्ताव थियो। त्यसमा आफूले सहमति दिएपछि भुसाल, अध्यक्ष ओलीलाई भेट्न गएको भन्दै नेता नेपालले भने, ‘उहाँ (ओली) ले माधव नेपालहरुका लागि यो पार्टीको ढोका बन्द भइसक्यो भन्नुभएछ।’

ओलीले जालझेल मात्र गरेको र सहमति पनि पालना नगरेको भन्दै उनले अघि भने, ‘आजै पनि प्रकाश ज्वालालाई केन्द्रीय सदस्यबाट निकाल्नुभयो र २६० जनाको नाम निर्वाचन आयोगमा पठाउनुभएछ । सुन्दैछु, माधवकुमार नेपाल र रामकुमारी झाँक्रीसहित १४ जनालाई निष्कासन गर्नुभयो।’

अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका हुन्।

नेता नेपालले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छ, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ।’

Logo