विपक्षी दलको अवरोधपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्ने

विपक्षी दलको अवरोधपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्ने

केन्द्रबिन्दु
0
Shares

विपक्षी दलको अवरोधका कारण मंगलबार स्थगित लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएको छ। 

नवौँ अधिवेशनअन्तर्गत मंगलबारको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियाे। 

बैठक सुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे। उनले विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही नहुँदासम्म विपक्षी दलले बैठक चल्न नदिने बताए।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रियाअनुसार अघि बढाउने बताए। त्यसपछि एमालेका सदस्यले उठेर विरोध जनाएका थिए। विपक्षी दलका सदस्यले टेबुल ठोकिरहँदा सभामुख घर्तीले प्रदेशसभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठन भएको जानकारी प्रदेशसभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए।
 
यसअघि एमालेले सूर्य चिह्न लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो। एमालेले वली र शाही पदमुक्त नहुँदासम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ।

Logo